लुइस एनरिकले बार्सिलोना छोड्ने घोषणा


बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छोड्ने घोषणा गरेका छन्।ला लिगाको विहिबार बिहान सम्पन्न खेलमा स्पोर्टिङ गिजोनलाई ६–१ गोलले पराजित गरेपछि पत्रकार सम्मेलनमा केही समय फुटबलबाट विश्राम लिन यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्ने जानकारी दिए। ‘क्लबले म माथि विश्वास देखाएर जुन जिम्मेवारी दियो, यसको लागि धन्यवाद। मेरो लागि क्लबको तीन वर्षको समय अविस्मरणीय रहनेछ,’ बार्सिलोना छोड्ने निर्णयबाट केही भावुक बनेका एनरिकले भने।

पछिल्लो समय टिम छनोटदेखि अन्य कुरामा उनको सुनुवाई हुन छोडेको खबर स्पेनको विभिन्न पत्रपत्रिकामार्फत सार्वजनिक पनि भएको थियो। दुई साताअघि च्याम्पियन्स लिगअन्तर्गत फ्रान्सको पेरिस सेन्ट जर्मनी(पिएसजी) सँग नकआउट चरणको पहिलो लेगको खेलमा ४–० को पराजय भोगेपछि एनरिकको रणनीतिलाई लिएर प्रश्न उठ्दै आइरहेको थियो।  एनरिकको बार्सिलोनामा यो तेस्रो सिजन हो।