भिटोफ पोखराद्धारा गाउँ पर्यटनका नायकको सम्झना


पोखरा । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) पोखरा शाखाले आइतबार पोखरामा नेपालमा होमस्टे सहित गाउँ पर्यटनको अबधारणा भित्र्याउने अगुवा क्याप्टेन रुद्रमान गुरुङको योगदानमाथि चर्चा गरेको छ । गुरुङको प्रथम वार्षिकि तिथिमा आयोजित कार्यक्रममा उनलाई ‘गाउँ पर्यटनका नायक‘का रुपमा सम्झना गरियो । उनको ८६ वर्षको उमेरमा विसं २०७२ फागुन १५ गते निधन भएको थियो ।
भारतीय सेनाका रिटायर्ड क्याप्टेन गुरुङले विसं २०५४ देखि स्याङजाको सिरुबारीमा होमस्टे सहित गाउँ पर्यटन सुरु गरेका थिए । त्यसकै सिको गर्दै आज देशभर होमस्टेको लहर चलेको छ । सिरुबारीका १७ घरमा होमस्टे गराइन्छ ।

कार्यक्रममा पत्रकार अमृत भादगाउँलेले राज्यले भन्दा अगाडि रुद्रमानले होमस्टेसहित गाउँ पर्यटन अबधारणा भित्रएर पर्यटनमा नयाँ आयाम थपेको बताए । उनले गाउँलेहरुले आफ्नै बलबुतामा विकास गरेको होमस्टेलाई पर्यटन कार्यालयमा दर्ता र रिन्यू गर्न समस्या भैरहेको उदाहरण सुनाए । पर्यटन कार्यालयहरु गाउँले मैत्री हुनुपर्नेमा उनले जोड दिए ।

त्यस अबसरमा नेपाल पर्यटन बोर्ड पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले गाउँ पर्यटनका लागि पश्चिमाञ्चल क्षेत्र उर्बर रहेको चर्चा गर्दै पर्यटनकर्मीेले होटल र होमस्टेलाई प्रतिस्पर्धीका रुपमा बुझ्न नहुने बताए । उनले भने, ‘ पोखरा सेरोफेरोका गाउँमा एक रात बसेर फर्कँदा ति पर्यटक अर्को रात पोखराका होटलमा पनि बस्छन् ।‘

भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले पश्चिम क्षेत्रको गाउँ पर्यटन विकासका लागि हातेमालो गर्न सबैसँग आग्रह गरे । उनले पश्चिमाञ्चलको गाउँ पर्यटन विकासमा काम गर्ने दुई जना पत्रकारलाई भिटोफले बर्सेनी रुद्रमान गुरुङ स्मृती गाउँ पर्यटन पत्रकारिता पुरस्कार दिने जानकारी गराए । पुरस्कार राशी जनही ११ हजार १ सय ११ रुपैयाँ हुनेछ ।

कार्यक्रममा प्राध्यापक डा. प्रेम शर्मा, बरिष्ठ पर्यटनकर्मीहरु बासु त्रिपाठी, गणेश भट्राई, पोखरा पर्यटन परिषदका उपाध्यक्ष चिरञ्जीवि पोखरेल लगायतले गाउँ पर्यटन र रुद्रमानको योगदानबारे बोलेका थिए ।

कार्यक्रममा तीन वटा होमस्टे गाउँका अगुवाहरुलाई एक्सिलेन्ट लिडरसिप अवार्ड अपर्ण गरियो । निरन्तर गाउँको पर्यटन विकासमा अगुवाई गरेस्वरुप सिरुबारी पर्यटन विकास समितिका पर्यटन संयोजक जुम बहादुर गुरुङ, घलेगाउँ लमजुङको ग्रामिण पर्यटन विकास समितिका अध्यक्ष प्रेमबहादुर घले र चित्रे ग्रामिण पर्यटन होमस्टे विकास समिति पवर्तकी अध्यक्ष सुशीलादेवी गुरुङलाई प्रमूख अतिथि नेपाल पर्यटन बोर्डका प्रमूख कार्यकारी अधिकृत दीपकराज जोशीले एक्सिलेन्ट लिडरसिप अवार्ड प्रदान गरे ।

त्यसैगरि स्व. रुद्रमानकी धर्मपत्नी भीमकुमारीदेवी गुरुङलाई पनि खास्टो ओढाएर सम्मान गरियो ।

पत्रकार भादगाउँलेको संयोजकत्वमा पर्यटन बोर्डका बरिष्ठ अधिकृत सूर्य थपलिया र भिटोफ पोखराका सचिव रविन्द्रराज पौडेल सदस्य भएको छनोट कमिटिले सम्मानका लागि अगुवा चयन गरेको थियो ।

चैतमा भिलेज टुरिज्म मार्ट

गाउँ पर्यटन प्रबद्र्धन गर्न र होमस्टेको मार्केटिङमा सहयोग पुर्याउने उद्धेश्यले नेपाल पर्यटन बोर्डले आउँदो चैत अन्तिम साता पोखरामा भिलेज टुरिज्म मार्ट आयोजना गर्ने भएको छ । मार्टको सहआयोजक भिटोफ पोखरा हुनेछ । आइतबार भिटोफको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भिलेज टुरिज्म मार्टको घोषणा गरेका हुन् ।

उनका अनुसार दुई दिने मार्टमा पश्चिम क्षेत्रका २५ भन्दा बढी होमस्टे गाउँहरुको स्टल राखिनेछ, होमस्टे सञ्चालक र टुर अपरेटरबीच अन्तरक्रिया हुनेछ । सँगै गाउँलेहरुले आफ्ना प्याकेज बेच्ने छन् । साथै गाउँ पर्यटनका चुनौती र सम्भावनाबारे विज्ञहरुबीच छलफल गरिनेछ । मार्टमा उत्कृष्ट साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गाउँहरुलाई पुरस्कृत समेत गरिने बोर्डका बरिष्ठ अधिकृत सूर्य थपलियाले बताए ।