पोखराको सराङकोटमा निर्माण गरिने अन्नपूर्ण केवलकार परियोजनाको लागि लगानी जुट्यो


पोखरा-पोखराको सराङकोटमा निमार्ण हुन लागेको अन्नपूर्ण केवलकार परियोजनाको लागि लगानी जुटेको छ । सनराईज बैंक लिमिटेडको अगुवाइमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले केबलकारका लागि आवश्यक ६६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हन् । बिहीबार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भयो।

कुल लागत ८९ करोड ६० लाख अनुमान गरिएको अन्नपूर्ण केवलकारमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने छन्। उक्त केलबरकारमा नेपाली व्यवसायी समूहको ७५, जापानी समूहको १५ प्रतिशत तथा स्थानीयबासीको १० प्रतिशत सेयर लगानी रहनेछ ।

दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना व्यवसायी कालु गुरुङ् तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेको अन्नपुर्ण केवल कार प्रा लिले निमार्ण गर्न लागेको हो । पोखरा २६ सेदीबाट सराङकोटमा पुग्ने छ ।
जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारका १३ वटा टावर तथा १६ देखि ३६ डिब्बा रहनेछन् । पहिलो चरणमा ८ जना यात्रु बस्न सक्ने १७ वटा डब्बा संचालनमा आउनेछ । यात्रुको संख्या बढ्दै जादा आवश्यकता अनुसार डब्बा थप गर्दे लाने कम्पनीको योजना छ ।

७ देखि ९ मिनेटसम्मको केबलकारको यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्ने निमार्ण कम्पनीको विश्वास छ । केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखरा बजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ ।

केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ । नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधि अनुसार एउटा तारमा कार झुन्डिने छन् । यो प्रविधिलाई डोपल मेयरको गोन्डोला प्रविधि भनिन्छ । केवलकार निर्माण पछि करिब ६० जनाले रोजगारी पाउने छन् ।