लिगामा रियल म्याड्रिडको हार


काठमाडौं । लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगामा दोस्रो हार ब्याहोर्ने क्रममा भ्यालेन्सियासँग २-१ को पराजित भएको छ ।खेल सुरु भएको चौथो मिनेटमै वेष्ट हृयामका पूर्व स्ट्राइकर सिमोन जाजाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । गत बर्षको मे महिनापछि जाजाको पहिलो लिग गोल हो । गोलपछि उनी भावुक बनेका थिए ।

नवौं मिनेटमा फावियन ओरेलानाले अर्को गोल थपेपछि सुरुवाती १० मिनेटमै रियल दुई शून्यले पछि परेको थियो ।पहिलो हाफको अन्त्यतिर सुपरस्टार क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काएपनि दोस्रो हाफमा रियलले जादू देखाउन सकेन र लिगमा दोस्रो हार व्यहोर्न बाध्य भयो ।

पराजयपछि पनि जिनेदिन जिदानेको टोली लिगमा १ अंकको अग्रताका साथ शीर्ष स्थानमै छ भने उसले अझै एक खेल कम खेलेको छ ।लिगमा राम्रो गर्न संघर्षरत भ्यालेन्सिया जितपछि १३औं स्थानमा उक्लिएको छ । भ्यालेन्सियाले यसै सिजनमात्रै तीन प्रशिक्षक फेरिसकेको छ । भोरो अहिलेका प्रशिक्षक हुन् ।