पोखरा विश्वविद्यालयको १४ औं दिक्षान्त समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारी


पोखरा – राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली विश्वविद्यालयबाट उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्नु दःखद भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेकी छिन् । पोखरा विश्वबिद्यालयको १४ औं दीक्षान्त समारोहलाई सोमवार सम्बोधन गर्दै उनले नेपाली विश्वविद्यालयबाट उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवाहरु जोखियुक्त र अल्प रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएको बताइन् ।

‘उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवाहरु जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेश पलायन हुन बाध्य छन्, ’ राष्ट्रपति भण्डारीले भनिन्, ‘ यो आजको तीतो र दुःखद तर यथार्थ परिदृष्य हो । ’

नेपालको विकासमा ठोस योगदान दिन सक्ने र आवश्यकता अनुसार वैज्ञानिक, ब्यवसायिक र रोजगारमूलक शैक्षिक जनशक्ति तयार गर्ने विषय प्रथामिकतामा पार्न उनको सुझाव छ । विश्वका प्रमुख शैक्षिक प्रतिष्ठानले स्थापित गरेका अब्बल अभ्यासको अनुकरण गरी नेपाली शिक्षालाई उत्कृष्टता प्रदान गर्न सकिने उनले विश्वास ब्यक्त गरिन् ।

विश्वबिद्यालयले बिद्यालय स्तरीय शिक्षालाई पनि मार्गदर्शन गर्न सक्नुपर्नेमा उनले जोड दिइन् । ‘वदलिएको विश्व परिवेश र राष्ट्रिय आकांक्षा अनुरुप विश्वबिद्यालयले शिक्षाको जगका रुपमा रहेको बिद्यालयस्तरीय शिक्षालाई पनि मार्गदर्शन गर्न सक्नुपर्छ ’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय जगतमा नगण्य मात्र योगदान गर्न सक्नु दुःखको विषय भन्दै उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले अन्तर्राष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने बताइन् । त्यसका लागि नेपालका शिक्षण संस्थालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने उनको भनाई छ । राष्ट्रपति भण्डारीले लामो द्धन्द र गत बर्षको विनासकारी भूकम्पले जर्जर भएको मुलुकको उत्थान एबं पुनः निर्माण कार्यमा दीक्षित बिद्यार्थीले आर्जन गरेका ज्ञान, सीप र प्रविधियुक्त मेहनती हातको देशलाई खाचो रहेको बताइन् ।

दीक्षान्त समारोहमा कम्प्युटर एप्लिकेशन स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कृष्ण बस्याललाई स्वर्ण पदकद्धारा सम्मान गरिएको थियो । साथै ब्यवस्थापन संकायतर्फ ब्यवसाय प्रशासन स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक ल्याउने सुसिला नेपाललाई लक्ष्मी बिद्या स्वर्ण पदकद्धारा सम्मान गरियो । त्यस्तै स्नातक तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने स्वस्थ्य विज्ञान संकाय पब्लिक हेल्थका आभाष पुरीलाई उपकुलपति पदक र स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने सुसिला नेपाललाई कुलपति पदक प्रदान गरियो ।

शैक्षिक सत्र २०७३ मा स्नातक तहमा ७३५ र स्नातकोत्तर तहमा ७२ जना विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको समेत जानकारी दिए । उनका अनुसार पोखरा विश्वविद्यालय अन्तर्गत ४ वटा आङ्गिक महाविद्यालय, ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयमार्फत प्राविधिक एबं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एम फिल र बिद्याावारिधितहमा पठन पाठन हुदै आएको छ । विश्वविद्यालयमा ४७ वटा कार्यक्रम सञ्चालनमा छन् ।

दीक्षान्त समारोअघि राष्ट्रपति भण्डारीले विश्वविद्यालयको नवनिर्मित केन्द्रिय कार्यालय भवनको उद्घाटन समेत गरेकी थिइन् ।