विहिबारबाट सुरु हुने तेस्रो जंगल फेस्टिभलको तयारी पूरा


पोखरा – तेस्रो जंगल फेस्टिभलको तयारी पूरा भएको छ । आयोजक परिचय नेपालले सोमवार पत्रकार सम्मेलन गरी आगामी विहिवार देखि पोखराको शान्ति वनवाटिकामा सुरु हुने फेस्टिभलको तयारी पूरा भएको जानकारी दिएको हो ।

फागुन २१ गतेसम्म संचालन फेस्टिभलमा लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसर पाइनुको साथै रोबोटिक भूत घर, नेपाल र भारतको रेस्लिङ, फेशन शो, नाटक मञ्चनसँगै गजल र मुक्तकको मेहफिल समेत चम्ने आयोजकले जनाएको छ । फेस्टिभलका लागि ६० भन्दा बढी डिजाइनरको आकर्षक पहिरनसहित मोडलहरु ¥याम्पमा उत्रनेछन् ।

यूथ क्रियशन थिएटरसँगको सहकार्यमा नाटक ‘भट्टीका सपना’ मञ्चन हुनेछ । करिब २५ जना गजलकार र मुक्तककारको प्रस्तुती भेस्टिभलको आकर्षणको रुपमा रहेका छन् । भेस्टिभलमा १७० भन्दा बढी चराको आवाज दुरुस्तै निकाल्न सक्ने रमेश दुलालको प्रस्तुती, दिपकराज गिरी, दिपाश्री निरौलाको विशेष प्रस्तुती पनि हेर्न पाइनेछ । फेस्टिभलमा दर्शकले जंगल र जंगली जीवनशैली अनुभूत गर्न पाउने थुप्रै रोचक कुराहरु समावेश गरिएको परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए ।

फेस्टिभलमा गायक कर्णदास, आस्था राउत, गिरिश खतिवडा, ज्योती मगर, रामजी खाड, योगेश काजी लगायतका कलाकारको प्रस्तुती पनि समावेश गरिने आयोजकले जनाएको छ । फेस्टिभलमा थारु, बोटे, कुसुन्डा जातिको नृत्य पनि देख्न पाइनेछ ।

फेस्टिभल सम्पन्न गर्न ८० लाख रुपैया खर्च अनुमान गरिएको छ भने एक करोड रुपैया आम्दानीको अपेक्षा गरिएको छ । फेस्टिभलबाट भएको आम्दानी मध्ये शान्ति वन वाटिका क्षेत्रको सडक स्तरोन्नतीका लागि स्थानिय वाटो उपभोक्ता समितिलाई साढे दुई लाख रुपैया प्रदान गरिने, नाटकघर निर्माणका लागि ५० हजार रुपैया दिने र कुसुन्डा जातिको संरक्षण एबं प्रबद्र्धनका लागि केहि रकम सहयोग गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रत्येक दुई वर्षमा हुने पृथक शैलीको यो फेस्टिभल अघिल्ला दुई सँस्करणभन्दा अझै बढि परिस्कृत हुने दावि गरिएको छ । कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजको प्रस्तुतीमा जंगलमै गरिने यो फेस्टिभल ‘जंगली जीवनशैली र जैविक विविधता’ सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुका लागि पनि उत्तिकै लाभदायक रहने वस्यालले बताए । झण्डै एक लाख दर्शक भित्रने अनुमान गरिएको फेस्टिभलमा ५० वटा स्टल रहने बस्यालले बताए ।