स्पेनमा दूताबास खोल्न परराष्ट्रमन्त्रीलाई दबाब,छलफल गरेर प्रक्रियामा जाने आश्वासन


स्पेनबाट ब्रसेल्स पुगेको टोलीले दूताबासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बार्सिलोना/ स्पेनमा नेपाली दूताबास स्थापनाका लागि दबाब दिदै परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतसँग बेल्जियममा भेटबार्ता भएको छ। युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्गको उच्चस्तरीय भ्रमणका लागि युरोप आएका मन्त्रीलाई बुधबार दूताबासको माग सहित स्पेनको टोलीले भेटबार्ता गरेको हो।

परराष्ट्रमन्त्री डा. महतसँग भेटबार्ता तथा दूताबास स्थापनाको लागि दबाबका लागि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा स्पेनका लागि पर्यटन दूत एकराज गिरी,नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटन दूत चिन्तामणी सापकोटा र नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले भेटबार्ता गरेका हुन्।

स्पेनमा दूताबास खोल्नु पर्ने आधारहरु,आँफूहरुले बुँदागत रुपमा राखे पछि छलफल गरेर प्रक्रियाका लागि अगाडी बढ्ने वचन परराष्ट्रमन्त्रीले दिएको भेटमा सहभागी पर्यटन दूत सापकोटाले जानकारी थिए। टोलीसँगको एउटा छुट्टै भेटका क्रममा, दूताबास आबश्यकता बारे, स्पेनमा नै पुगेर बोलेको स्मरण गर्दै डा.महतले सक्दो पहल गर्ने प्रतिबद्दता दोर्याएका छन्।

परिबार पुनर्मिलनको प्रक्रियामा दिल्लीमा हाल नेपालीहरुले भोग्नु पर्ने समस्याहरुको बारेमा पनि परराष्ट्रमन्त्रीलाई जानकारी गराएको एनआरएनए आईसीसी सदस्य गिरीले जानकारी दिए। स्पेनका लागि पर्यटन दूत समेत रहेका गिरीले भने,” दिल्लीमा कागजपत्र पेश गर्न सिता(एपोइन्टमेन्ट) को लागि मात्र महिनौ कुर्नुपर्ने समस्या तथा नेपालको मेडिकल रिपोर्टलाई दिल्ली स्थित स्पेनिस दूताबासले मान्यता नदिने बारे पनि मन्त्रीलाई जानकारी गराएका छौ। यसलाई तत्काल बुझेर समस्या समाधान तर्फ परराष्ट्र मन्त्रालय लाग्ने वचन पाएका छौ।”

नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको कार्यक्रममा,जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले बोल्दै स्पेनका नेपालीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी गराएका थिए। यस्तै डा.महतलाई दूताबासको माग गर्दै जनसम्पर्क समिति स्पेनले ज्ञापनपत्र बुझाएको छ।

डा. महतले यस अघि स्पेन आउँदा कतिपय मुलुकमा सरकारले विचारै नपुर्याई दूताबास खोलेको भन्दै त्यस्ता ठाउँमा बन्द गरेर स्पेनमा नेपाली दूताबास स्थापना गर्नु समेत बताएका थिए। उनै डा. महतले आज परराष्ट्र मन्त्रालय सम्हालेका छन् तर आफ्नै बोलीलाई ब्यबारमा लागु गर्न सकेका छैनन्। उनले सन् २०१४ मा बार्सिलोना आउँदा भनेका थिए,”दक्षिण अफ्रिका,ब्राजिल जस्ता मुलुकमा दूताबासको आबस्यकता नै छैन त्यस्तो ठाउँमा बन्द गरेर यहाँ स्थापना गर्नु पर्छ।”

१० हजार भन्दा बढी नेपालीहरु बसोबास गर्ने स्पेनबाट नेपालले बिशेष गरी पर्यटन क्षेत्रमा ठुलो फाईदा उठाउँन सक्ने बताईन्छ। बिगतका तथ्याङ्कलाई हेर्दा बेलायत,फ्रान्स र जर्मनी पछि युरोपबाट धेरै पर्यटकहरु पुग्ने देशमा स्पेनको नाम आउँछ। सन् २००३ देखि सन् २०१५ सम्म बर्षेनी नेपाल पुग्ने स्पेनिसहरु औसत संख्या १२ हजार भन्दा बढी रहेको छ।

यो अबधिमा करिब १ लाख ६० हजार स्पेनिस पर्यटकहरु नेपाल घुमिसकेका छन्। स्पेनमा नेपाली दूताबास नभए पनि यो संख्या अन्य दूताबास भएका मुलुकहरु बेल्जियम,डेनमार्क, स्बिजरल्याण्ड भन्दा दोब्बर वा त्यो भन्दा पनि बढी हो।

नेपालीको संख्या दिनानु दिन बढ्दै गएको,परिबार पुनर्मिलनको क्रममा दिल्लीमा समस्या झेल्नु पर्ने लगायत थुप्रै झन्झटहरुले पनि स्पेनबासी नेपालीहरुले दूताबासको माग गर्दै आएका हुन्।