प्रेस युनियनले बिथोल्यो पत्रकार महासंघ कास्कीको अधिवेशन


पोखरा- नेपाल पत्रकार महासंघ कास्कीको १० औं अधिवेशन नेपाली कांग्रेस निकटका पत्रकारहरुको संस्था प्रेस युनियनले बिथोलेको छ । पत्रकार महासंघ कास्कीमा कुनै पनि विवाद नभएको अवस्थामा देशका केही जिल्लामा देखिएको सदस्यता विवादलाई कास्कीसँग जोडेर प्रेस युनियनले अधिवेशन बिथोलेको हो ।

नयाँ नेतृत्व चयन गर्ने अधिवेशनमा चार वटा प्रगतिशील पत्रकारहरुका संगठनबीच चुनावी तालमेल भएपछि हार निश्चित देखेर प्रेस युनियनले अनावश्यक बखेडा जिकेर अधिवेशनमा अवरोध गरेको हो । अधिवेशनमा प्रेस चौतारी कास्की, प्रेस सेन्टर कास्की, नेपाल प्रेस सोसाइटी कास्की र क्रान्तिकारी पत्रकार संगठनबीच चुनावी तालमेल भएको थियो । प्रेस युनियनले स्वतन्त्र पत्रकार संघसँग चुनावी तालमेल गरी चुनावी मैदानमा उत्रिएको थियो ।

मंगलबार बिहान ८ बजे अधिवेशन तय गरिएकोमा त्यो भन्दा अगाडि नै पत्रकार महासंघ कास्कीको भवनमा विज्ञप्ति टाँसेर प्रेस युनियनले अधिवेशन स्थगित गर्न दबाब दिएको थियो । प्रेस युनियनका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रमेश पौडेल र प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको नेतृत्वको टोलीले केन्द्रको निर्देशन भन्दै अधिवेशन स्थागित गर्न माग गरेको थियो । निर्वाचन समितिले मतदाता नामावली टाँस गर्ने बेलामा युनियनले अवरोध गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो ।

प्रेस युनियन केन्द्र र प्रेस युनियन कास्कीले सोमबार राति विज्ञप्ति निकालेर अधिवेशन स्थगित गर्न माग गरेको थियो । विज्ञप्ति ज जारी गरेपछि प्रेस युनियनका जिम्मेवार अधिवेशन सुरु गर्नका लागि पटक÷पटक वार्ता भएपनि प्रेस युनियन आफ्नो अडान नछाडेपछि पत्रकार महासंघ कास्कीले असजह परिस्थिति भएको भन्दै अधिवेशन स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको पत्रकार महासंघ कास्ूकीका अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

अधिवेशनका लागि बिहानै पत्रकार महासंघ कास्कीको कार्यालय पुगेका पत्रकारलाई दिउँसो ३ बजे मात्र अधिवेशन स्थगित भएको जानकारी गराइएको थियो । कार्यसमितिको बैठकले अधिवेशन स्थगित गरेको हो । श्रमजीवी पत्रकारहरुका भावनामा चोट पुग्ने गरी अधिवेशनमा अवरोध गरिएको भन्दै पत्रकारहरुले अधिवेशन सञ्चालन गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए । पत्रकार महासंघ कास्कीको अधिवेशनको उद्घाटन गर्न केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र बिष्ट पोखरा आएका थिए भने अधिवेशन गराउनका लागि केन्द्रीय प्रतिनिधि कोषाध्यक्ष सूर्यमणि गौतम तोकिएका थिए ।

अवरोधप्रति आपत्ति

यसैबीच देशका अन्य जिल्लामा भएको सदस्य विवादलाई जोडेर प्रेस युुनियनले पत्रकार महासंघ कास्की शाखाको अधिवेशन विथोलेकोमा चार वटा पत्रकारका संगठनले आपत्ति जनाएका छन् ।

प्रेस चौतारी कास्की, प्रेस सेन्टर, नेपाल प्रेस सोसाइटी कास्की र क्रान्तिकारी पत्रकार संगठन कास्कीले पत्रकार सम्मेलन गरी युनियनले गरेको अवरोधकै कारणले अधिवेशन स्थगित भएको भन्दै भत्र्सना गरेका हुन् । कास्की शाखामा कुनै पनि विवाद नरहेको अवस्थामा जवरजस्ती अधिवेशनलाई सुरुआत गर्न अवरोध गरी प्रकृयालाई बन्धक बनाई अधिवेशन स्थगित हुने अवस्था सिर्जना गर्नु प्रजातन्त्र र लोकतन्त्रको उपहास भएको चार वटा संगठनले पत्रकार सम्मेलनमा बाँडेको विज्ञप्तिमा उल्लेख छ ।

केही जिल्लामा देखिएको सदस्यता विवादलाई कास्कीसँग जोडेर शाखा अधिवेशन स्थगित गरिनु हास्यास्पद भएको विज्ञप्तिमा भनिएको छ । ‘प्रेस युनियनले अधिवेशन नगर्न विज्ञप्ति निकालेकै भरमा अनावश्यक बखेडा सिर्जना गरेर अधिवेशन स्थगित गरिनुमा नेपाल पत्रकार महासंघको केन्द्रीय समिति तथा कास्की शाखाको अकर्मण्यता भएको ठहर हामीले गरेका छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन प्रकृयाको सामना गर्न डराएर प्रकृयालाई नै अवरोध गरी अधिवेशन नै स्थगित गरिएको प्रति विज्ञप्तिमा भत्र्सना गरिएको छ । पत्रकार महासंघ साझा संस्था भएकोले पत्रकारहरुको चाहना अनुसार अधिवेशन र निर्वाचन प्रकृया अबिलम्ब सञ्चालन गर्न चार वटै संस्थाले जोडदार माग गरेका छन् । ‘आम पत्रकारहरुको तीव्र चाहना र माग हुँदाहुँदै पनि श्रमजीवी पत्रकारहरुको मर्म र भावना विपरीत गरिएको हर्कत हामीलाई मान्य छैन । ’ विज्ञप्तिमा उल्लेख छ । नयाँ निर्वाचनको लागि तयार भएको गठबन्धनबाट अत्तालिएर अधिवेशन विथोल्नु पराजित मानसिकताको उपज भएको विज्ञप्तिमा उल्लेख छ । स्थगित गरिएको अधिवेशन अविलम्ब नगरे हामी थप दबाबका कार्यक्रम ल्याउन बाध्य हुने उनीहरुले चेतावदी दिएका छन् ।

‘निर्वाचन स्थगित भए पनि हाम्रो संयुक्त गठबन्धन अझ बलियो हुने विश्वास दिलाउँदै गठबन्धनमा आवद्ध सहकर्मी संगठन तथा साथीहरु कत्ति पनि विचलित नभई अझै आत्मविश्वासका साथ अगाडि बढ्ने प्रण गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, प्रेस सन्ेटर कास्कीका अध्यक्ष विभु भुसाल, नेपाल प्रेस सोसाइटी कास्कीका अध्यक्ष सञ्जय मल्ल र क्रान्तिकारी पत्रकार संगठन कास्कीका अध्यक्ष माधव पनेरुले हस्ताक्षर गरेका छन् ।