‘भ्यालेन्टाइन डे’ को रौनक पोखरामा


राजाराम पौडेल,पोखरा – प्रेम प्रकट गर्ने राम्रो ठाँउ पोखरा हो,जहाँ प्रकृतिको मनोरम दृश्यमा रम्दै माया अभिव्यक्त गर्न पाइन्छ । र्भखरै प्रेममा पर्न लागेका परेका युवायुवती हुन्, अथवा विवाहित जोडी । स्कुल पढ्ने हुन् या कलेज पढ्ने । उनीहरुले पोखराका रमणीय ठाउँमा पुगरे प्रेम अभिव्यक्त खोज्छन् । त्यसैले त भ्यालेन्टाइन डेको बेला पोखरामा मायालु जोडीहरु संख्या बढी देखिन्छ । पोखरा आसपासबाट मात्र नभएर नेपालका विभिन्न ठाउँबाट भ्यालेन्टाइन डे मनाउने जोडी पोखरा आउने गरेका छन् । पछिल्ला समयमा सबै पुस्तामा भ्यालेन्टाइन डेको प्रभाव बढ्दै गएको छ । त्यसैलेत भ्यालेन्टाइन डे सप्ताह शूरु भएदेखि पोखराका रमणीय स्थलमा प्रेम गर्ने मायालु जोडिहरुको भिँड यहाँ देख्न सकिन्छ ।
यसरी घुम्न जानेमा कलेज पढ्ने युवा युवतीको संख्या बढी छन् । कलेज ड्रेसमानै गिफ्ट किन्न पुग्नेको भिँड पोखराका गिफ्ट पसलमा सुरु भैसकेका छ । भिँड भ्यालेन्टाइन डेको दिन सम्म झनै बढ्नेछ । फेसबुक, ट्विटर जस्ता सामाजीक सञ्जालको कारण समेत यसले व्यापता पाउदै गएको हो ।

पर्यटकीय सहर पोखराको शान्तिस्तुपा, पुम्दिकोट टावर, फेवाताल, बेगनासताल, रुपाताल, काहूँडाँडा, सराङ्गकोट, डेभिडफल, लभ्लीडाँडा, रातोमाटे डाँडा, पामे, महेन्द्रगुफा, चमेरेगुफा, पावरहाउस, माटेपानीगुम्बा, पुम्दीकोट टावर, रुपाकोर्ट रिर्सोट लगायतका रमणिय र एकान्त स्थान युवा जोडीहरुको रोजाइमा पर्ने गरेको छ । पोखरा फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिर, विन्ध्यबासिनी, भद्रकालीलगायतका मन्दिर समेत उनीहरुको रोजाइमा पर्छ । यहाँ रहेका तारे होटल र रिर्सोटमा आन्तरिक तथा बाह्य पर्यटक जोडीको चहलपहल देखिन्छ ।

भ्यालेन्टाइन डेको महत्व बुझेर भन्दा पनि लहैलहैमा यसलाई मनाउनेहरु पनि छन् । यो दिवसको महत्व नबुझि हचुवाको भरमा प्रेम गर्ने नाटक गर्ने व्यक्तिको संख्या पनि उस्तै छ । सप्ताहको पहिलो दिन रोज डे, दोस्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डी डे, पाँचौ दिन प्रोमिस डे, छैटौ दिन हग डे, सातौ दिन किस डे र अन्तिम तथा विशेष दिन भ्यालेन्टाइन डे को रुपमा मनाउन थालिएको यो दिवसको मुख्य दिन तथा साताभरीनै विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रम बढ्दै गएको छ ।

पोखराको चिप्लेढुंगास्थित आर्चिस ग्यालेरीमा गिफ्ट खरिदका लागि ग्राहक पुग्नेक्रम बढेको संचालक शंकर पराजुलीले बताए । पसलमा युवायुवतीहरुले गुलाफको फूल, प्रेमचिन्ह भएका कार्ड, जोडी अंकित मूर्ति, चकलेट उपहार सामग्रीहरु किन्ने गरेको उनी बताउँछन् । पोखरामा मात्रै यसपालिको भ्यालेन्टाइन डेमा झण्डै एक करोडको रुपैयाँ बराबरको गिफ्टको कारोबार हुने आकलन गरिएको छ । पोखराका अन्य गिफ्ट पसलमा समेत युवायुवतीको लाम लाग्ने गर्दछ ।

यतिबेला एफ एम रेडियो तथा टेलिभिजन कार्यक्रममा समेत भ्यालेन्टाइन डेलाई लक्षित गरी कार्यक्रम प्रसारण गरीरहेका छन् । भ्यालेन्टाइन डेको अवसरमा विभिन्न साँगीतिक कार्यक्रमको आयोजना गरीएको हुदाँ युवायुवतीको भिड यस्ता साँगीतिक कार्यक्रम र चलचित्र हलमा समेत हुने गर्दछ ।

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै पोखराको बिग एफएमले रेडियो गेम सो ‘बेस्ट भ्यालेन्टाइन कपल’ सञ्चालन गरेको छ । मायालु जोडीहरुलाई लक्षित यो कार्यक्रम बिग एफएमले हरेक वर्षको भ्यालेन्टाइन डेमा गर्दै आएको छ । यो रेडियो गेम शो फागुन ३ गतेसम्म चल्नेछ । माया गर्ने जोडीहरुले एसएमएसमार्फत यो रेडियो गेम शोका लागि ‘जोडी दर्ता’ गर्नुपर्ने एफएमले जनाएको छ । छानिएका उत्कृष्ट १० जोडीमध्ये भ्यालेन्टाइन डेको दिन एक जना सर्वोत्कृष्ट जोडी छानिनेछन् ।

भ्यालेन्टाइन डेकै अवसरमा ओजन रेष्टुरेन्ट एण्ड बारमा भ्यालेनटाइन डे नाइट कार्यक्रमको आयोजना हुँदैछ । द कार्टुनज क्रु, जि नाइन व्याण्ड, क्रिस्टल क्लाउज डान्स क्रुको प्रस्तुतीमा मायालु जोडी रम्न पाउने डान्सर समेत रहेका आयोजक विवेक गुरुङले जनाए । दोस्रोपटक हुन लागेको द प्रोजेक्ट नाइट अफ माइस्टेरी कार्यक्रममा उनले समेत आफ्नो प्रस्तुती राख्नेछन् ।
चिर्यस होलिडे एण्ड टुर्स प्रालिले भ्यालेन्टाइन डेलाई लक्षित गरी भ्यालेन्टाइन डेको लागि तीन दिने स्पेशल प्याकेज ल्याएको छ । जस अनुसार एक जोडीले ब्रेकफास्ट, दुईदिनको पोखरा साइट सिन र फेवातालमा बोटिङको प्याकेज आठ हजार पाँच सय रुपैयाँमा पाउनेछन् ।
यसैगरी भ्यालेन्टाइन डेकै अवसरमा भारतको सिलगुढीबाट पोखरासम्म छ दिनको मोटरसाइकल टुर आयोजना गरिएको छ ।
भ्यालेन्टाइन डे को अवसरमा कि एडर्भटाइजिङको आयोजनामा रोमियो एण्ड जुलिएट म्युजिकल नाइट तथा फेसन सो पोखराको लेकसाइड रिट्रिटमा हुदैँछ ।
पोखराको रानिवन आर्केडमा सञ्जिव सिँहको साथमा रावण व्याण्डको प्रस्तुती रहनेछ । रोज एण्ड ¥याम्स् नामको कार्यक्रमका अलावा भ्यालेन्टाइन जोडीलाई एक रात दुई दिनको प्याकेज तहाँ उपलब्ध छ ।
यसैगरी एस टि क्रियसनको आयोजनामा पोखरामा भ्यालेन्टाइन डेको अवसरमा फागुन ६ गते फेसन सो तथा लाइभ म्युजिकको आयोजना हुँदैछ ।
अन्य पोखराका विभिन्न ठाउँमा भ्यालेन्टाइन डेको अवसरमा कार्यक्रमको आयोजना गरिदैछ । यहाँ रहेको होटल तथा रिर्सोटले भ्यालेन्टाइन जोडीको लागि विशेष छुटमा विभिन्न प्याकेज ल्याउने जनाएका छन् ।

खासगरी प्रेमी–प्रेमिका तथा श्रीमान–श्रीमतीहरुले एकअर्कालाई उपहार आदानप्रदान गर्दै एकान्तमा बसेर एकआपसमा मायाँ साटासाट गर्दछन् । मन परेको ब्यक्तिलाई आफुले प्रस्तुत गर्न नसकेको प्रेमको बारेमा जानकारी गराउने दिनको रुपमा समेत भ्यालेन्टाइन डेलाई लिइन्छ ।
प्रेमी प्रेमीकालाई मनपर्ने उपहार, फुल, कार्ड आदान प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरको रुपमा यस दिनलाई लिन थालेकोले बढी मात्रामा युवापिडिँ माझ यस दिनको महत्व बढेको पाइन्छ । यस दिन डेटिङ जाने, उपहार आदानप्रदान गर्ने प्रेम प्रस्ताव राख्ने दिनको रुपमा मात्र हैन माया साटासाट गर्ने दिनको रुपमा लिनेहरुको जमात पनि उतीनै देखिन्छ ।
केटा साथी नभएपनि केटी साथी बिचमै कार्ड साटासाट गर्ने तथा केटी साथी नभएपनि केटा साथी बिचमै काड साटासाट गर्ने घुम्न जाने रमाइलो गर्नेहरु समेत पोखरामा देखिन्छन् ।
नेपालमा यो दिवसलाई पश्चिमी संस्कृतीको सिको भन्दै आलोचना गर्ने गरिएपनि यो मान्न अहिलेका युवा तयार छैनन् । उनीहरु यसलाई पर्वको रुपमा हेर्छन् ।