परराष्ट्रमन्त्री डा.महत र बेल्जियम समकक्षीबीच भेटबार्ता


-बसन्त रानाभाट

बार्सिलोना/ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेल्जियमका समकक्षी डीडीयर रेयण्डरससँग भेटबार्ता गरेका छन्। सोमबार मध्यान्न परराष्ट्रमन्त्री महतले उपप्रधान तथा युरोपियन मामिला समेत हेर्ने आफ्ना समकक्षी मन्त्री रेयण्डरससँग भेटबार्ता गरेका हुन्। समकक्षीबीचको बार्तामा द्विपक्षीय हितका बिषयमा छलफल भएको बेल्जियम स्थित नेपाली दूताबासले जनाएको छ।

चार दिने भम्रणका क्रममा ब्रसेल्स आएका मन्त्री महतले भूकम्प पछि पुनर्निमाणको चरणमा रहेको नेपाललाई उचित सहयोग र समर्थनका लागि बेल्जियम सरकारलाई अनुरोध गरेका छन्। दूताबासद्वारा जारी बिज्ञप्तिमा भनिएको छ,”दुई देशका मन्त्रालयहरु बीच द्विपक्षीय एक परामर्श संयन्त्रको स्थापना गर्ने सहमती भएको छ। साथै दुई मुलुकबीचको सम्बन्ध,बिकास सहयोग,ब्यापार,लगानी र पर्यटन क्षेत्रको विषयमा बृहत छलफल भएको छ।”unnamed-3आपसी सहयोगलाई बढाएर द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउँन समकक्षीहरु दृढ रहेका छन्। मन्त्री महतले बिनाशकारी भूकम्पका बेला राहत र उद्दार कार्यमा बेल्जियमले खेलेको भूमिका प्रति कृतज्ञता ब्यक्त गरेका छन्। नेपालको पछिल्लो राजनीतिक अबस्थाको बारेमा पनि आफ्ना समकक्षीलाई जानकारी गराएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

आँफूलाई अन्तर्राष्ट्रिय उच्चस्तरीय मध्यस्थता सम्मेलनमा बेल्जियमले निमन्त्रणा गरेकोमा धन्यबाद दिदै मन्त्री महतले समकक्षी रेयण्डरलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्। भेटबार्ताका क्रममा नेपाली भ्रमण टोलीसँगै बेल्जियम स्थित नेपाली दूताबासका राजदूत लोक बहादुर थापा पनि सहभागी थिए।unnamed-2डा. महतले युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्ग सरकारका उच्चपदस्थ अधिकारीहरुसँग वार्ता गर्दै छन्।भ्रमणको दोस्रो दिन मंगलबार अन्तर्राष्ट्रिय उच्चस्तरीय मध्यस्थता सम्मेलनमा पराष्ट्रमन्त्री डा.महतले नेपालको शान्ति प्रक्रियाको अवस्थाबारे सम्बोधन गर्दै छन्।

भ्रमण कै क्रममा युरोपियन युनियन र भारतले गत वर्ष नेपालको संविधानको विषयमा जारी गरेको आलोचनात्मक संयुक्त वक्तव्यबारे नेपालले औपचारिक रुपमा नै प्रश्न गर्ने मौका पाएको छ। परराष्ट्रमन्त्री महतले यो बारे युरोपियन युनियनसँग प्रश्न गर्ने यस अघि बताईसकेका छन्। गत वर्ष ब्रसेल्समा सम्पन्न भारत–ईयू सम्मलेनपछि “नेपालको संविधानलाई अपूर्ण भन्दै समयसीमाभित्र रही संविधानका विवादित विषय मिलाउनुपर्ने” भन्दै संयुक्त वक्तव्य जारी भएको थियो।

यसै बीच सोमबार नै गैर आबासीय नेपाली संघ (एनआएनए ) बेल्जियमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत मन्त्री महत सहभागी बने। उनले नेपाली समुदायलाई सम्बोधन गर्दै देशको राजनीतिक घटनाक्रमको बारेमा चर्चा गरेका थिए।

संविधान जारी गरेपछि र पुननिर्माणको चरणमा रहेको नेपालका लागि युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्गका लागि यो पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तस्बिर:- बेल्जियम स्थित नेपाली दूताबासबाट प्राप्त

unnamed-4