पश्चिमाञ्चल होटल संघ पोखराले फागुन १३ गते महयात्रा २०७३ आयोजना गर्ने


पोखरा – पश्चिमाञ्चल होटल संघ पोखराले फागुन १३ गते महयात्रा २०७३ आयोजना गर्ने भएको छ । होटल संघ नेपालको सहयोगमा पोखरा सभागृहमा हुने कार्यक्रममा लोकप्रिय हाश्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको विशेष प्रस्तुती रहने छ ।

पोखराको वातावरण संरक्षण र पर्यावरणीय विकासका लागि अर्थ संकलन गर्न यस्तो कार्यक्रम आयोजना हुन लागेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । बृक्षरोपण गर्ने र शहरलाई हरियाली बनाउने उद्धेश्य पूरा गर्न पनि यो कार्यक्रम गर्न लागिएको उनले सुनाए । अपरान्ह साडे दुई बजे सुरु हुने कार्यक्रममा कलाकारहरु राजाराम पौडेल, शिबहरी पौडेल र किरण केसी लगायतको पनि प्रस्तुती रहने अध्यक्ष तुलाचनले जानकारी दिए । नाचगान र गीतसंगीतका आकर्षण पनि कार्यक्रममा समेटिने छन् ।

संघले आफ्नो स्थापना कालदेखि नै वातावरण संरक्षण लगायत फेवा ताल र अन्य पर्यटकीय सम्पदाको संरक्षणमा विशेष सक्रियता प्रदर्शन गर्र्दै आएको सन्दर्भमा यो कार्यक्रम समेत आयोजना गर्न लागेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । यसैविच संघले नेपाली नयाँ वर्षको अवसरमा आयोजना गर्ने फेवा नयाँ वर्ष महोत्सवको तयारी समेत अगाडि बढाउने निर्णय आइतबारको बैठकले गरेको छ । यो महोत्सव नेपाली संस्कृति र फेवा तालको संरक्षणलाई लक्षित गरी आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन संघले आयोजना गर्दै आएको छ ।

यसैबिच संघको आइतबार बसेको सल्लाहकारसहितको बैठकले पोखरा लजका संचालक महेन्द्र अधिकारी, होटल ट्रेकर्स इनका संचालक महादेब भण्डारी, हिमालयन गेष्ट हाउसका संचालक भिष्मराज पौडेल र होटल लेगेसीका संचालक राजु थकालीलाई संघको कार्यसमितिमा मनोनयन गरेको छ । अध्यक्षले दुई र कार्यसमितिले दुई गरी कूल चार जना मनोनयन गर्ने संघको विधान अनुसार सदस्यहरुको मनोनयन गरिएको हो । संघको केही दिन अघि अठारौं अधिवेशनले तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । कूल १७ सदस्यीय हुने कार्यसमितिमा बाँकी चार जनाको मनोनयन केही दिन अघि गरिएको हो । मनोनित चारै जना सदस्यले शपथ ग्रहण गरिसकेका छन् ।