नेपाली युवा स्ट्राईकर अञ्जन विष्ट स्पेनमा सम्मानित (भिडियो सहित)


बार्सिलोना/ नेपाली राष्ट्रिय फुटबल टीमका युवा स्ट्राईकर अञ्जन विष्ट स्पेनमा सम्मानित भएका छन्। स्पेन स्थित मार्बेला युनाईटेड एफसीमा प्रशिक्षणका रहेका युवा खेलाडी बिष्ट आईतबार बार्सिलोनामा सम्मानित भएका हुन्। नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना गरेको कार्यक्रममा स्पेनबासी नेपालीहरुको तर्फ बिष्टलाई सम्मानपत्र प्रदान गरिएको थियो।

खेलाडीलाई हौसला प्रदान गर्न गरिएको सम्मानले आँफूलाई अझै अगाडी बढ्ने प्रेरेणा मिलेको भन्दै युवा खेलाडी विष्टले आभार प्रकट गरे। उनले भने,”तपाईहरु गर्नु भएको माया र सम्मानले छातीमा नेपाली झण्डालाई राखेर अझै अघि बढ्ने प्रेरेणा मिलेको छ। अझै मेहेनत गरेर देशको नाम उचो राख्ने प्रयास गर्ने छु।” नेपालले अन्तराष्ट्रिय फुटबलमा बिस्तारै फड्को मारेको बताउँदै उनले बिश्व कप फुटबलमा समेत कुनै-कुनै दिन नेपालले भाग लिने बिश्वास समेत ब्यक्त गरे।

राष्ट्रिय खेलाडी बिष्टसँगै स्पेनमा नै बसेर बिभिन्न क्लवहरुमा आबद्द भएर फुटबल खेल खेलिरहेका नेपाली युवाहरुले बिभिन्न जिज्ञासाहरु राखेका थिए। प्रतिउत्तरमा बिष्टले निरन्तर मेहनत र कडा परिश्रम गर्न युवाहरुलाई प्रोत्साहित गर्दै आफ्ना अनुभवहरु सुनाए।IMG_2764

स्पेनका लागि पर्यटन दूत दीपक खरेलको प्रमुख आतिथ्यता सम्पन्न सम्मान तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले शुभकामना ब्यक्त गरेका थिए। मञ्चका अध्यक्ष गंगा प्रसाद भुसालले राष्ट्रिय खेलाडीलाई सिङ्गो नेपाली समुदायले सम्मान गरेको भन्दै यसको ब्यबस्थापन मात्र आँफूहरुले गरेको बताए। कार्यक्रमको संचालन अर्जुन आचार्यले गरेका थिए।IMG_2773

स्पेनको मागालामा रहेको मार्बेला युनाईटेड एफसीमा प्रशिक्षण सकेर युवा खेलाडी बिष्ट अर्को साता बेल्जियम जाने तयारी गर्दै छन्। अर्का युवा स्ट्राईकर बिमल घर्तीमगरलाई समेत सम्मान कार्यक्रममा निमन्त्रणा गरिएको भएता  पनि उपस्थिति हुन सकेनन्। बेल्जियममा प्रशिक्षणमा नै ब्यस्त रहनु पर्ने भएकाले घर्तीमगर सहभागी हुन नसकेका हुन्।