“बामपन्थी र दरबारिया शक्तिका कारण मुलुकको यो दुर्दशा भो” – रामचन्द्र पौडेल


बसन्त रानाभाट/बार्सिलोना

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दरबारिया शक्तिहरु र बामपन्थीहरुले गर्दा मुलुकले दुर्दशा भोगेको आरोप लगाएका छन्। बरिष्ठ नेता पौडेलले दरबारियाहरुले ‘लोकतन्त्रलाई” बिदेशीको ब्यबस्था भन्ने र बामपन्थीहरुले शोषकहरुको ब्यबस्था भन्दै अलमलमा पारेर मुलुकले यस्तो दुर्दशा भोग्नु परेको बताएका हुन्।

नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिबेशनलाई शनिबार कोपेनहेगनमा सम्बोधन गर्दै नेता पौडेलले भने,” यी दुई तत्वहरुले गर्दा नै मुलुकले प्रगती गर्न पाएन, हामीले २००७ सालमा नै परिबर्तन ल्यायौ तर लोकतान्त्रिक बाटोमा अघि बढ्न नसक्ने यिनै शक्तिहरु दायाँ र बाँया देखा परे, यसैले देश आजसम्म पनि अन्यौलमा छ।”

७० बर्ष पहिले बहुदलीय,संसदीय,लोकतान्त्रिक प्रणालीलाई निन्दा र भत्सर्ना गर्नेहरुले नै आज संबिधानमा हस्ताक्षर गरेको भन्दै नेता पौडेलले मुलुकको दुर्दशाको जिम्मेबारी पनि उनीहरु नै लिनु पर्ने बताए। उनले भने,”यही कुरालाई हिजो स्वीकार गरिदिएको भए आज मुलुक धेरै नै अगाडी बढीसक्ने थियो।”

नेपाली काँग्रेसको नेतृत्वमा मुलुकमा नयाँ संबिधान जारी भएको भन्दै अब यसलाई कार्यान्वयन गर्न पनि काँग्रेस नै अग्रसर हुनुपर्ने बताए। “संबिधान कार्यान्वय गर्न आउँदो मंसिर भित्रमा नै स्थानीय,प्रदेश र संसदको गरी तिन वटा चुनाव सम्पन्न गर्नु पर्ने छ। तर चुनावलाई टार्ने षड़यन्त्र भईरहेका छन् यसको बिरुद्द हामीले खबरदारी पनि गरिरहेका छौ।” पौडेलले भने।

उनले काग्नेसलाई एकताबद्द बनाएर षड़यन्त्रका बिरुद्द लड्न पार्टी सभापतिलाई आँफूले अनुरोध समेत गरेको बताए। पौडेलले भने “राष्ट्र, लोकतन्त्र र पार्टीका लागि जहिले पनि आँफूलाई नै जोखिममा राख्ने गरेको छु, तर देश र पार्टीलाई जोखिममा राखेर आँफुलाई फाईदा लिने कहिल्यै कोशिस गरिन।” पछिल्लो अबस्थामा काँग्रेसको नाममा गैर काँग्रेसी आचारणका कारण पार्टीले ठुलो नोक्सानी ब्यहोरेको पनि उनले उल्लेख गरे। नेता पौडेलले राजनीति गर्नेले आर्दश र निष्ठाको राजनीतिलाई बचाउनु पर्नेमा जोड दिए।

नेपाली जनसम्पर्क समिति डेनमार्कमा नयाँ नेतृत्वका लागि भएको चुनाव प्रति संकेत गर्दै पौडेलले चुनाव हार्ने र जित्नेहरु सधै हातेमालो गरेर हिड्नु पर्ने  बताए। उनले भने,” चुनाव हार्दैमा केहि हुँदैन ,चुनाव हारे फेरि जितिन्छ। मैले पनि कति पटक  शेरबहादुर जीलाई जितेको थिए तर उहाँले नै मलाई हराउँनुभयो।”