पोखरा र लेखनाथमा रहेका तालतलैयाया र जैविक विविधताको संरक्षणमा चासो दिनुपर्ने


पोखरा- पोखरा र लेखनाथमा रहेका तालतलैयाया र जैविक विविधताको संरक्षणमा सरकार र सरोकारवाला निकायले तत्काल चासो दिनुपर्ने विज्ञहरुले बताएका छन् । बढ्दो शहरीकरण र प्रदुषणले तालहरुलाई अतिक्रमण गर्नुका साथै जैविक विविधतामा ह्रास आएको विज्ञहरुको भनाइ छ ।

शहरी विकाससँगैसँगै हरित गृह निर्माणमा पनि चासो दिइनुपर्ने उनीहरुले बताए । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस प्राध्यापक संघ इकाईको आयोजना, पोखरा पर्यटन परिषद्को व्यवस्थापन र रुफोड फाउण्डेसनको सहयोगमा तालतलैया र जैविक विविधताको संरक्षणमा चासो बढाउने उद्देश्यले शुक्रबार अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो ।

पोखरा पर्यटन परिषद्का सल्लाहकार तथा अध्ययन श्रीकान्त शर्मा खतिवडाले जैविक विविधता हेर्नकै लागि पर्यटक पोखरा आउने भएकाले यसको संरक्षणमा सरोकारवालाहरुको चासो जानुपर्ने धारणा राखे । पोखराको फेवाताल र लेखनाथका तालहरुको संरक्षणमा तत्काल चासो नदिए तालहरु अतिक्रमण हुने क्रम अझ बढ्ने उनले बताए । ‘रामसार सूचिमा परेकाले पनि यहाँको तालका महत्व कति छ स्पष्ट हुन्छ,’ उनले भने, ‘दीगो पर्यटनको विकासका लािग ताल वरपरका स्थानीयबासीलाई समेत समेटेर दीर्घकालीन व्यवस्थापनमा लाग्नुपर्छ ।’

उपप्राध्यापक समुन भट्टराईले अव्यवस्थित फोहरमैलाले जैविक विविधताको भण्डार मानिने तालहरुलाई असर गरेको धारणा राखे । ‘फोहरले ताललाई जीर्ण बनाएको छ,’ उनले भने । व्यवस्थित शहरसँगै हरित शहरको पनि आवश्यकता रहेको उनले बताए । ‘विकाससँगैसँगै प्रदुषण बढेकाले जैविक विविधता संरक्षण चुनौती बनेको छ,’ उनले भने, ‘विकास गर्दा जैविक विविधताको संरक्षणमा चासो दिनुपर्छ ।’ प्राध्यापक विनोदप्रसाद हेयाजूले बस्ती विकासलाई व्यवस्थित गर्दै व्यवस्थित शहरमा जोडदिनुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले पोखरा तालैलातको शहर भएकाले तालको संरक्षणमा सरोकारवाला निकायको ध्यान जानुपर्ने धारणा राखे । पोखराको पर्यटनमा यहाँका तालहरुको योगदान महत्वपूर्ण रहेको बताए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पछिल्लो समय पोखरा कंक्रिट नै कंक्रिटको जंगल बनेको धारणा राखे । अव्यवस्थित रुपमा शहरीकरण बढिरहेको प्रति उनले चिन्ता व्यक्त गरे । ‘नयाँ पुस्तालाई के हस्तान्तरण गर्ने अहिलेको पुस्ताले सोच्नुपर्छ,’ उनले भने, ‘भोलिका लागि आजै नसोचे नयाँ पुस्ताले अहिलेको पुस्तालाई धिक्कार्छन् ।’

जिल्ला वन कार्यालय कास्कीका अधिकृत केदार बरालले ताल संरक्षणका लागि अधिकार सम्पन्न छुट्टै समिति आवश्यक रहेको बताए । ‘विकासका नाममा बिनास भइरहेको छ,’ उनले भने, ‘ताल वरपरको विकास गरिँदा त्यसले ताललाई कत्तिको असर गरेको छ चासो दिनुपर्छ ।’ ताल संरक्षणको आधिकारिक निकाय स्पष्ट नहुँदा समस्या सिर्जना भएको उनको भनाइ छ । कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डिन प्रा.डा. कृष्णराज तिवारी, पोखरा क्याम्पसका क्याम्पस प्रमुख डा. दीलबहादुर खनाल लगायतले बोलेका थिए ।