ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


आज बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले सरकारको समीक्षा गर्नेदेखि स्थानीय निर्वाचनबारे भएका गतिविधि र नेताका अभिव्यक्तिसम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री ‘असफल’ शीर्षकमा समीक्षात्मक समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै नेपाल प्रहरीका डिआईजीको बढुवामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच विवाद भएको समाचारलाई पनि फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकमा विदेशसम्बन्धबारे सरकारले लिएको नीति र त्यसको प्रतिफलसम्बन्धी समाचारले महत्व पाएको छ ।

विद्युतीय भोटिङ मेसिन खरिदमा ‘कानुन मिच्दै सरकार’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको नागरिक दैनिकले नेपाली चुल्ठो र दाह्रीले विदेशी बजारमा जमाएको प्रभावबारेको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकको फ्रन्टपेजमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई सचेत गराएको समाचार र महाभियोग सिफारिस समितिले अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीमाथि कारबाही हुनुपर्ने प्रतिवेदन बुझाएको समाचारले स्थान पाएको छ ।

महानगरले मोनो रेलको योजना ल्याएको समाचारलाई महत्व दिएको राजधानी दैनिकले नयाँ आइजीपी बन्न रस्साकस्सी भएको समाचारलाई एंकर बनाएको छ ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव हुनेमा शंका नगर्न आग्रह गरेको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यस्तै, विवाह गर्न अब २० वर्ष पुग्नैपर्ने समाचारले पनि प्राथमिकता पाएको छ ।

‘घातक एसिड खुलमखुला’लाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले राप्रपा अधिवेशनमा नेतृत्वका लागि रस्साकस्सी बढेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
1
6
2
5
3
4