परराष्ट्रमन्त्री युरोप आउँदै, डा.महतले स्पेनमा के गरेका थिए बाचा ?


स्पेनमा दूताबासको माग गर्दै परराष्ट्र मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकार बसन्त रानाभाट।

बार्सिलोना/ नेपाली काँग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत युरोप आउँने भएका छन्। बेल्जियम र लक्जेम्वर्ग भ्रमणमका लागि मन्त्री महत यसै साता ब्रसेल्स आउँन लागेका हुन्। परराष्ट्रमन्त्री डा. महत आउँने भए पछि गैर आबासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गर्दै छ।

परराष्ट्रमन्त्री नै आउँने भए पछि कुनै देशमा अन्तरक्रिया तथा डिनरको चासो बढ्छ भने,दूताबासको माग गर्दै आएका मुलुकहरुमा भने उही ज्ञापनपत्रको चाजोपाजो मिलाउँन ब्यस्त देखिन्छन्। प्रमुख राजनीतिक दलका नेताहरु आउँदा होस् वा मन्त्री,सभासद आउँदा ज्ञापनपत्रको तयारी गर्नु पर्ने बाध्यता यहाँका नेपालीहरुको छ।

सधै सकारात्मक छौ भन्ने मन्त्रालयको जबाफ पाएर निराश बनेका नेपालीहरु समेत परराष्ट्रमन्त्री नै युरोप आएका बेला केहि हुन्छ कि भन्नु स्वभाबिक नै हो। सम्बन्धित निकायबाट पटक- पटक बेवास्ता भए पनि दूताबासका लागि पुन: पहल गर्न यहाँका नेपालीहरुले कुनै कसर बाँकी राखेका छैनन्।

त्यसो त सन् २०१४ मा डा. महतले स्पेन भ्रमणको क्रममा बार्सिलोनामा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरिसकेका छन्। अन्तरक्रिया मात्र हैन स्पेनबासी नेपाली समुदायले दूताबास नहुँदा झेल्नु पर्ने समस्याको लामै टिपोट गरेर उनि नेपाल फर्केका थिए। बार्सिलोनामा सम्पन्न गैर आबासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठकमा डा. महतले भाग लिएका थिए। सोही सम्मेलनले नै स्पेनमा नेपाली दूताबास स्थापनाको आबश्यकता ठान्दै सरकारसँग जोडदार माग राख्दै घोषणापत्र समेत जारी गरेको थियो।

यो बारेमा हाल परराष्ट्रमन्त्रीको जिम्मेबारी सम्हालेका डा.महत राम्रोसँग जानकार छन्। गत अक्टोबरमा समेत स्पेनबासी नेपालीहरुले दूताबासको आबश्यकता सहित मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र थमाएका हुन्। तर अहिले सम्म पनि परराष्ट्र मन्त्रालय दूताबास खोल्ने वा नखोल्ने बारे मौन छ। स्पेनमा दूताबास स्थापनाको बारेमा मन्त्रीपरिषदमा छलफल भए नभएको बारे कुनै आधिकारिक जानकारी छैन।

डा. महतले परराष्ट्र मन्त्रालय सम्हाले यता स्पेनबासी नेपालीहरुले दिल्लीमा झनै सास्ती खेप्नु परेको छ। परिबार पुनर्मिलनको क्रममा कागजपत्र बुझाउँन पाईने सिता(अपोईन्टमेन्ट) का लागि महिनौ कुर्नु पर्ने झन्झट आएको छ। यसले गर्दा परिबार ल्याउँने प्रक्रियामा पहिले भन्दा करिव ६ महिना ढिलो हुन पुगेको छ। यसो त नेपालको मेडिकल रिपोर्टलाई अझै पनि दिल्लीको स्पेनिस दूताबासले मान्यता दिने गरेको छैन। यो बारेको टिपोर्ट त डा. महतले स्पेनका नेपालीहरु माँझ अन्तरक्रिया कै क्रममा गरेका थिए। तर समस्या हालसम्म हल हुन सकेको छैन।

नेताहरुको असली रुप:-

आँफू सत्ता बाहिर रहँदा जनताका समस्याहरु देख्ने र सुन्ने तर निर्णय गर्ने ठाउँमा पुगे पछि वास्ता नै नगर्ने नेपाली नेताहरुले देखाउँदै आएको असली रुप हो।

प्रधानमन्त्री होस् वा मन्त्री देखि, दलका नेताहरुसम्मले बोलेका कुरा पुरा गर्दैनन् भन्ने नमिठो छाप नेपाली जनता माझ परिसकेको छ। भाषणमा भने मिठा- मिठा गफ गर्दै ठुला ठुला सपना देखाउँने तर व्यबारमा कत्ति पनि लागु गर्न नसक्दा नेताहरुले चर्को आलोचना खेप्नु परेको छ।

चाहे नेपाललाई स्बिजरल्याण्ड बनाउँने सपना होस् वा घर- घरमा बिजुली वा घर-घरमा पानीका धारा पुर्याउँने सपना किन नहोस् नेताको बोल्ने भाषणमा यी शब्दहरु सामान्य बन्दै गएका छन्। स्वदेशमा यसो भनीरहँदा विदेशमा भने दूताबास शब्द निकै सस्तो बन्यो। नेपालीहरुको बाक्लो बसाई भएको मुलुकहरुमा नेपाली दूताबास स्थापना पहिलो माग भएकोले पनि नेताहरुले यसलाई पनि बोल्ने भाडो बनाउँन थाले।

बेला मौकामा युरोप आउँदा स्पेन,पोर्चुगल भित्रिए लगत्तै दूताबास बारे राम्रै चर्चा हुने गर्छ। तर प्रगती भने हालसम्म शुन्य नै छ। पुर्ब प्रधानमन्त्री द्वय शेर बहादुर देउवा, केपी शर्मा ओली देखि हालका परराष्ट्र मन्त्री डा. महत सम्मले स्पेन आएर नेपाली दूताबास बारे बोलेका छन्। आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्दता सहित नेपाल फर्केका थिए।

डा. महतले स्पेनमा के भनेका थिए ?

नेपाली काँग्रेसका नेताका रुपमा स्पेनमा आउँदा डा. महतले स्पेनमा नेपाली दुताबास स्थापना गर्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए। एक अन्तरबार्ताको क्रममा डा. महतले  कतिपय मुलुकमा सरकारले विचारै नपुर्याई दुताबास खोलेको भन्दै त्यस्ता ठाउँमा बन्द गरेर स्पेनमा नेपाली दुताबास स्थापना गर्नु पर्ने बताएका थिए।

डा. महतले अन्तर्वार्तामा भनेका थिए,”दक्षिण अफ्रिका,ब्राजिल जस्ता मुलुकमा दुताबासको आबस्यकता नै छैन त्यस्तो ठाउँमा बन्द गरेर यहाँ स्थापना गर्नु पर्छ।” उनै डा. महतले परराष्ट्र मन्त्रालय सम्हालेका छन् तर आफ्नै बोलीलाई ब्यबारमा लागु गर्न भने सकेका छैनन्।  डा. महतसँग सन् २०१४,जुन ५ तारिख पत्रकार बसन्त रानाभाटले स्पेनमा लिएको अडियो अन्तरबार्ता सुन्नुहोस्।