वन्यजन्तु पाल्न पाइने प्रावधान थप्ने तयारी प्रति विरोध (छापाबाट)


वन्यजन्तु संरक्षण ऐन संसोधन गरेर बन्यजन्तु पालन प्रावधान थप्न लागेको विरोधमा वन्यजन्तु तथा पशुअधिकारका क्षेत्रमा क्रियाशिल युवाले शनिबार भरतपुरमा प्रदर्शन गरेका छन् ।

एनिमल राइट क्लब, वन फुड फरवार्ड र लियो क्लब भरतपुर चौतारीले संयुक्त रुपमा चौबीसकोटीदेखि नारायणगढको लायन्स चोकसम्म जुलुस आयोजना गरे ।

कृषि तथा वन विश्वविद्यालय रामपुरका सहप्राध्यापक कल्याणी मिश्रले जुलुस आरम्भ गर्दै वन्यजन्तुलाई प्राकृतिक वातावरण नै प्रिय लाग्ने भएका कारण त्यसभन्दा बाहेकको बासस्थान प्रबन्ध गर्नु राम्रो नहुने बताइन् । उनले ऐनमा वन्यजन्तु पालन व्यवस्था नराख्न सरकारसँग माग गरिन् ।

वन्यजन्तु पाल्न पाइने प्रावधान थप्ने तयारीका साथ सरकारले २०२९ सालमा बनेको ऐन पाँचौपटक संसोधन गर्दैछ ।

यस अघि ऐन संसोधनबारे संसदको वातारण संरक्षण समितिले चितवनको सौराहामा आयोजना गरेको छलफलमा जिल्ला न्यायधिवक्ता मणिराज न्यौपानेले वन्यजन्तु पाल्न दिने प्रावधानले वन्यजन्तुको चोरी सिकारी मौलाउने खतरा रहेको औंल्याएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।