नेपाल लिटरेचर फेस्टिभल २०१७ पोखरामा जारी, सहभागीता बढ्दै


पोखरा-नेपाल लिटरेचर फेस्टिभल २०१७ (नेपाल साहित्य महोत्सव २०७३) मा पोखरामा दर्शकलाई तानेको छ । फेवा किनारको नेपाल पर्यटन बोर्डमा सञ्चालीत महोत्सवको आजको दिन “गन्धर्व गीत” बाट शुरु भयो । सांगितिक वार्तालाप गर्दै शोधकर्ता कुसुमाकर न्यौपानेले गायकद्वय हरिबहादुर गन्धर्व र नारायण गन्धर्वका माध्यमबाट उनीको समुदायको कुशल गायन सीप र प्रतिभा उजागर गरे । त्यसपछिको सत्र “समृद्धिः कति नजिक?” मा सम्पादक सुधीर शर्मा र समाजशास्त्री चैतन्य मिश्रले नेपालको विगतको सम्पन्नता र भविष्यको समृद्धिको सम्भावनाबारे चर्चा गरे ।

चौरको तेस्रो सत्रका रुपमा हिन्दी भाषाका उत्कृष्ट लेखक उदय प्रकाश र उनका पुस्तकका अनुवादक तथा पत्रकार यज्ञशका बीच “मोहनदास देखि नेलकटर” विषयमा विमर्श भयो । विचारक सीके लालले सञ्चालन गरे । उक्त सत्रभन्दा अघि यज्ञशले नै अनुवाद गर्नुभएको कथा संग्रह “नेलकटर” को पनि उहाँले र लेखक उदय प्रकाशले विमोचन गरे । यसै समयमा हलको सत्र भर्खरै बित्नुभएका साहित्यकार कमलमणि दिक्षित प्रति समर्पित गरिएको थियो ।

भाषाविद केदार शर्माले प्रस्तुत गर्नुभएको उक्त सत्रका वक्ताहरु वैरागी काइँला, धु्रवचन्द्र गौतम र राजेन्द्र दाहालले कमलमणिका विशिष्ट योगदान बारे चर्चा गरे । त्यसपछि चौरमा भएको सत्र विशेषगरि युवापुस्तामाझ अत्यन्त लोकप्रिय रह्यो । १३ वटा बेस्टसेलर प्रकाशित गरिसकेका युवा लेखक दुर्जोय दत्तसँग उनका पुस्तकप्रतिको आशक्तिबारे प्रश्न गर्दै हुनुहुन्थ्यो पाठक तथा समालोचक हिमा विष्ट । हलमा त्यतिखेर हिमाल एशोशिएशनका प्रमुख तथा अनुवादक बसन्त थापाले अनुवादको महत्वबारे एकल प्रस्तुति दिए ।

चौरको छैठौ सत्रले दर्शकहरुलाई स्वैरकल्पनाको संसारमा पु¥यायो । सम्पादक नारायण ढकालले लेखकत्रय नयनराज पाण्डे, कुमार नगरकोटी र नारायण ढकालसँग लेखनमा यथार्थ र कल्पनाबारे कुराकानी गरे । त्यसैगरी हलमा कवितामा क्लिसे वा विम्बको अतिप्रयोग र पुनरावृत्तिबारे कविहरु निभा शाह, भूपिन र तीर्थ श्रेष्ठले आफ्ना विचार प्रस्तुत गरे । यसका प्रस्तोता कवि नवराज पराजुली गरे ।

यसपछिको सत्र अत्यन्त रोचक रह्यो – लेखक अमर न्यौपानेले व्यवसायी र लेखक जीवा लामिछाने तथा विश्व साइकल यात्री पुष्कर शाहसँग संसार घुम्ने तरिकाबारे कुराकानी गरे । हलमा यतिखेर अन्तिम सत्रका रुपमा पत्रकार यज्ञशले सम्पादकहरु हरिहर विरही, राजेन्द्र दाहाल तथा अमित ढकालसँग पत्रकारिताको विगत, वर्तमान र अबको मार्गबारे बहस गरे ।

यसपछि नेपाल साहित्य महोत्सव २०७३ को एउटा प्रमुख सत्र – कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रहसनको पालो आयो । व्यङ्ग्य मार्फत देशका बेतिथिहरुलदाई घोचपेच हान्दै उहाँहरुले धेरै प्रशंसा प्राप्त गरे । आजको अन्तिम सत्रका रुपमा सम्पादक नारायण वाग्लेले गायक अमृत गुरुङसँग गायन, जिन्दगी र जन्मथलो पोखराबारे कुराकानी गरे ।