पाहुना टोली अमेरिकाको एएनएलाई ४–१ गोलले पराजित गर्दै झापा–११ क्वाटरफाइनलमा


राजाराम पौडेल- कर्ण सुब्बाको ह्याट्रिक संगै नवप्रवेशी पाहुना टीम अमेरिकाको एएनए फुटवल टीमलाई ४–१ गोलले पराजित गर्दै रमपम झापा–११ फुटवल क्लव १५औं आहारारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेल अवधिभर एक पक्षीय खेल खेलेको झापाका कर्ण एक्लैले ३ गोल गरे भने १ गोल बुद्ध चेमजोङले गरे । एएनएका तर्फबाट सान्त्वना गोल अदामुले गरेका थिए ।

आहारारा गोल्डकपमा झापाको यो चौथो सहभागिता हो । झापाले यसअघि २०५९, २०७१ र २०७२ को आहारारा गोल्डकपमा सहभागिता जनाएको थियो । जसमध्ये २०५९ को क्वाटर फाइनलमा नेपाल पुलिससंग ३–१, २०७१ को पनि क्वाटर फाइनलमा थ्रीस्टारसंग २–० र २०७२ को सेमिफाइनलमा मनाङ–मस्र्याङ्दीसंग ४–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । बिहीबार पोखरा रङ्गशालामा भएको प्रतियोगितामा झापाले २४औं मिनेटमा गोल गरि अग्रता लिएको थियो । पुजन उपरकोटीको क्रस पासलाई कर्णले हेडमार्फत सुन्दर गोल गरि टीमलाई १–० को अग्रता दिलाएका थिए । कर्णले खेलको ३०औं र ९०औं मिनेटमा गोल गरेका थिए भने ७४औं मिनेटमा बुद्ध चेमजोङले १ गोल गरेर टीमलाई विजयी गराए । कर्णलाई गोल गर्न रजीन धिमाल र दिलन लोक्तान सहयोगीको भूमिका निर्वाह गरे भने बुद्धलाई गोल गराउन कर्णले सहयोगी भूमिका खेले। कर्ण खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।

झापाले खेल अवधिभर पाएका कैयौं सुन्दर अवसरलाई सदुपयोग गर्न सकेन । खेलको १५औं मिनेटमा कर्णले पाएको वान टु वान को अवस्थामा एएनएका गोलरक्षक एलन न्यौपानेले रोके । खेलको ४७औं मिनेटमा पनि गोल गर्नबाट कर्ण नै चुके । खेलमैदानको करिब बीच भागबाट एएनएका ३ खेलाडीलाई छक्याउँदै एक्लै बल अघि बढाएका गर्ण डिबक्समै पुग्दा गोल गर्नबाट चुकेका थिए । डिबक्सबाट उनले गरेको प्रहार गोलपोष्ट भन्दा थोरै माथिबाट बाहिरिएको थियो । खेलको ६२ औं मिनेटमा कर्णकै सशक्त प्रहारलाई एएनएका गोलरक्षक न्यौपानेले पञ्च गर्दै बल बाहिर फालिदिएका थिए भने ८५औं मिनेटमा रञ्जित श्रेष्ठको कडा प्रहारलाई विपक्षी गोलरक्षक न्यौपानेले मुस्किलले विफल पारे । झापाले फेमिफाइनल प्रवेशका लागि क्वाटर फाइनलमा त्रिभुवन आर्मीको सामना गर्नेछ ।

यता, फुटवल खेल्न भन्दा पनि भावना जोड्न पोखरा आएको एएनएन टीमले खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेन । मिडफिल र पासमा फितलो प्रदर्शन गरेको एएनएका खेलाडीको दौडने क्षमता भने प्रशंसायोग्य थियो । एएनएले पहिलो हाफ भन्दा दोस्रो आफमा सुधारिएको प्रदर्शन गरेको थियो । दोस्रो हाफमा एएनएका अदामु, जोनाटन आन्द्रादे, प्रतीक सिंहले जुझारु खेल प्रदर्शन गरेपनि जीत निकाल्न सकेनन् र प्रतियोगिताबाटै बाहिरिन पुग्यो । खेलको ८५औं मिनेटमा टीमका लागि सान्त्वना गोल अदामुले गरे । झापाको भरपर्दा ३ खेलाडीलाई छक्याएर डिएरियाबाट सुन्दर गोल गरेका थिए ।
एएनएका तर्फबाट गोल गर्ने केही प्रयास असफल भएको थियो । खेलको २७औं मिनेटमा कर्नर एरियाबाट जोनाटनको प्रहार गोलपोष्ट माथिबाट बाहिरिन पुग्यो भने ५८औं मिनेटमा रोहन देवकोटाको क्रस पासमा शौरन राउतको सशक्त प्रहारलाई झापाका गोलरक्षक किशोर गिरीले विफल पारे ।

शुक्रबारको खेल २०५८ को क्याराभान गोल्डकपसहित ६ पटकको उपाधि विजेता नेपाल पुलिस क्लव र सिएमजी संकटा क्लवबीच खेल हुने आयोजक सहाराले जनाएको छ ।