इटलीमा भूकम्प पछि हिमपहिरो, ३० जना बेपत्ता


मध्य इटलीस्थित एउटा होटलमाथि हिमपहिरो गएपछि ३० जनासम्म हराइरहेको उद्धारकर्ताहरु बताउँछन्।भूकम्पका कारण हिमपहिरो गएको मानिएको छ। उद्धारकर्ताहरु रातभरी रिगोपियानो होटल पुग्ने कोसिस गरिरहेका थिए।हिमपहिरोका कारण सडकहरु अवरुद्ध छन् र उद्धारकर्ताहरु स्की गर्दै त्यहाँ पुगेका थिए। हिउँबाट एकजनाको शव निकालिएको छ भने ३ जना जीवितै निस्केका छन्।

‘भूकम्पको नतिजा

मध्य इटलीको त्यो पहाडी क्षेत्रमा बुधबार ४ पटक भूकम्प गएका थिए र राती पनि कम्पनहरु गएको बताइएको छ।हालै आँधीबेहरीका कारण केही गाउँमा विद्युत सेवा अवरुद्ध भएको समयमा भूकम्पले समस्या थपिदिएको छ।त्यो क्षेत्रका अन्य इलाकामा पनि उद्धारकार्य जारी छ।अब्रोट्सो क्षेत्रस्थित ग्रान सासो पहाड नजिकैको चार तारे रिगोपियानो होटलको छाना बुधबार राति आंशिक रुपमा भत्केको थियो।

फसेका मानिस

होटलभित्र त्यो समयमा बालबालिका सहित २० पर्यटक र र ७ कर्मचारी रहेको उद्धारकर्ताहरु बताउँछन्।फरिण्डोलाका स्थानीय बासिन्दाले आपतकालीन सेवाप्रदायकलाई खबर गरेका थिए।त्यहाँ फँसेपछि केहीले फोनबाट सन्देश पठाएको इटलीको सञ्चार माध्यमले बताएका छन्।एक जोडीले जाडो भएर ज्यान जान लागेको भन्दै सन्देश पठाएको आन्स समाचार संस्थाले बताएको छ।

जीवित उद्धार

ढलेका रुखहरुले घेरिएको त्यो भत्केको भवन बाहिर २ जना जीवितै भेटिएका थिए।अत्यधिक चीसोले बिरामी भएका उनीहरुलाई अस्पताल लगिएको थियो।ती मध्ये एकले आफ्नी पत्नी र छोरी अझै होटलभित्रै फँसिरहेको बताएका छन्।आँधी र हिमपातका कारण सडक अवरुद्ध भएपछि त्यो होटलसम्म पुग्न गाह्रो भएको छ।

हिउँले कठिनाई

गाडीहरुलाई हिउँ छिचोल्न गाह्रो भइरहेको छ र केही उद्धारकर्ताहरु स्की गर्दै त्यहाँ पुगेका छन्।गत अगस्ट र अक्टोबर महिनाका बीचमा आपनाइन्ज् क्षेत्रमा ६ रिक्टर स्केलका ३ वटा भूकम्प गएका थिए।त्यसले नजिकैका दुईवटा क्षेत्रमा पनि असर परेकाले बारम्बार भूकम्प गईरहने विज्ञहरु बताउँछन्।अब्रोट्सो क्षेत्रमा विगत केहि दिनमा ४ देखि ५ रिक्टर स्केल बीचका करीब एक दर्जन भूकम्प गएका छन् भनी बीबीसी नेपाली सेबाले जनाएको छ।