धरान फुटबल क्लब आहा रारा गोल्ड कपको क्वार्टरफाइनलमा


पोखरा – धरान फुटबल क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । विभागिय टोली एपिएफलाई १–० ले हराउँदै धरान दोस्रो पटक आहा रारा गोल्डकपको दोस्रो चरणमा पुगेको हो । धरानले माघ ९ गते लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग क्वार्टरफाइनलमा खेल्नेछ ।

दीपक राईले थप समयमा गरेको गोलमा धरानले अन्तिम आठको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप समयको १५ औं मिनेटमा दीपकले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए ।विल्सन कङदङ्वाको पासमा दीपकले दोस्रो बारमा गोल गरेका थिए । यसअघि आहा राराको चौथो संस्करणमा पनि यी दुई टोलीबीचको निर्धारित र थप समय २–२ को बराबरीपछि टाइब्रेकरमा एपिएफ विजयी भएको थियो ।

अघिल्ला दुई संस्करणमा भाग नलिएको धरानले १२ औं संस्करणमा मात्र पहिलो खेल जितेको थियो । १३ औं सहभागितामा धरान दोस्रो चरण पुगेको यो दोस्रो पटक हो । छैटौं संस्करणको फाइनल खेलको एपिएफ लगातार तेस्रो पटक पहिलो चरणबाट बाहिरिएको छ । दुवै टोलीले निर्धारित समयमा गोलका केही अवसर पाएर पनि गोल गर्न सनेका थिएनन् ।आहा रारा गोल्डकपमा बिहीबारको खेल एएनए अमेरिका फुटबल टिमविरुद्ध झापा ११ वीच हुने छ ।