जसले चुनाव जित्न सक्छ त्यसैलाई टिकट दिन्छु : शेरवहादुर देउवा


पोखरा- नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टी निर्णय बिरुद्ध बोल्दै हिड्ने नेता कार्यकर्तालाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी निर्णय बिरुद्ध बोल्दै नहिड्न नेता कार्यकर्तालाई चेतावनी दिएका हुन् । उनले मधेसी र पहाडीलाई भड्काउने षड्यन्त्र भैरहेको भन्दै सबैलाई मिलाउने दायित्व कांग्रेसको काँधमा रहेको बताए ।पाँच नम्बर प्रदेशमा अहिले देखिएको समस्या स्वर्गिय सुशिल कोइराला र केपी ओलीको कारण भएको पनि उनले आरोप लगाए ।

उनिहरुले हस्ताक्षर गरेका कारण अहिलेको समस्या देखिएको र आफुहरु कारक नभएको उनले स्पष्ट पारे ।उनले मधेसी जनताको भावनाको कदर गर्दै मधेसी र पहाडीको विचमा मेलमिलापको वाताबरण बनाउनुपर्ने खाचो औल्याए । अर्को प्रशंगमा उनले पार्टीमा आन्तरिक एकता नभए चुनाव जित्न नसकिने भएकाले जसले चुनाव जित्न सक्छ त्यसैलाई टिकट दिने स्पष्ट पारे । शेरवहादुर देउवा भन्दा पनि कांग्रेस पार्टी भनेर अघि बढ्न निर्देशन दिदै उनले गुठ उपगुठको कुरा नगर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले निर्वाचन गराउने कुरामा सरकार सक्रिय हुनुपर्ने बताए ।सांसद यज्ञबहादुर थापाले तीन तहका निर्वाचन सम्पन्न गर्दै मुलुकमा संविधानको कार्यान्वयन गर्नका लागि पार्टीको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए ।नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य शुक्रराज शर्माले देशका विभिन्न कठिन मोडमा नेतृत्व गरेको पार्टीले तीनै तहको निर्वाचनमा आफ्नो नेतृत्वदायी भूमिका स्थापित गर्दै संविधान कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षाका लागि अघि बढ्ने बेला आएको बताए ।