‘पिआर,ग्रिनकार्ड हुनेले पनि निर्वाचनमा मतदान गर्न पाउनु पर्छ – एनआरएन उपाध्यक्ष पन्त


न्यूयोर्क/ गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले ‘पिआर र ग्रिनकार्ड हुने नेपालीहरु, नेपाली नागरिक नै भएकाले निर्वाचनमा मतदान गर्न पाउनु पर्ने बताएका छन्।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएन अमेरिकाको शनिवार भएको पाँचौं बार्षिक साधारणसभाको उद्‌घाटन समारोहमा बोल्दै पन्तले यस्तो बताएका हुन्।

उपाध्यक्ष पन्तले प्रवासमा रहने नेपाली जो सुकै व्यक्ति संसारको जुन देशमा भए पनि समृद्ध मातृभुमिका लागि एक जुट हुनुपर्नेमा जोड दिदै मतदान अधिकारको माग गरेका हुन्। उनले भने,”हरेक व्यक्तिको फरक विचार, वर्ग र क्षेत्रको प्रतिनिधित्व गरेर प्रवासमा रहे पनि आखिर हाम्रो मुख्य दायित्व समृद्ध नेपाल निर्माण नै भएकोले एनआरएनको महान अभियानमा सहभागी हुन आह्वान गर्दछु।”

यसै बीच कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले प्रवासमा रहका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। विदेशमा हुनेलाई तत्काल यस्तो अधिकार दिन प्राविधिक समस्या रहेकोमा त्यसलाई समाधान गर्न पहल भइरहेको उनले बताएका हुन्।

डा.केशव पौडेलको अध्यक्षतामा सम्पन्न पाँचौ वार्षिक साधारणसभामा अमेरिकास्थित नेपाली राजदुत डा.अर्जुन कार्की,न्यूयोर्कस्थित नेपाली बाणिज्यदूत कृशु क्षेत्री लगायत १७ वटै च्याप्टरका प्रतिनिधिहरु बाक्लो उपस्थिति थियो।