युरोपमा बसेर पनि लोकदोहोरीमा सक्रिय कलाकारहरु


बार्सिलोना/ झट्ट सुन्दा युरोप आउने भनेको पैसा कमाउन नै हो सबै नेपाली, नगन्य मात्रामा मात्र नेपाली बिद्यार्थीहरु पढाइको सिलसिलामा युरोप छिरेका छन्। युरोपका विभिन्न देशहरुमा लाखौ नेपालीहरु छरिएर बसेका छन्, यिनै नेपालीहरुको भिडमा केहि क्रियाशील कलाकारहरु पनि यहाँ भेटिन थालेका छन् जसले बेला बेलामा नेपाल गएर गीत रेकर्ड गरेर आउने गर्छन, यो क्रम लोकदोहोरीमा अलि बाक्लो नै देखिन्छ। हुन त पछिल्लो समयमा कृष्ण धाराबासीको झोलामा अभियान गरेकी नायिका गरिमा पन्त पनि ब्यबसायको क्रममा युरोपेली मुलुक बेल्जियममा नै बस्दै आएकी छन्।

लोकदोहोरीका अग्रज राजेन्द्र लम्साल, गीतकार शिब सुबेदी, गायिकाहरु शकुन्तला थापा, सुमी घिमिरे सापकोटा, बिनिता लामिछाने, गायकहरु नबिन भट्टराई, जे बि ओली लगायतका नाम युरोपमा रहेर पनि नेपाली लोकदोहोरीमा सक्रिय कलाकारको नाममा अटाउन सकिन्छ।

लामो समयदेखि इटालीमा बस्दै आएकी लोकदोहोरी गायिका शकुन्तला थापाले इटालीबाट नै नेपाली संगीतमा निरन्तर काम गरिरहेकी छन्। बेला बेला नेपाल जादा गीत रेकर्ड गर्दै फर्कने गरेकी छन्, उनले गत वर्ष बद्रि पंगेनीसँग गाएको रातो पछ्यौरी बोलको गीत धेरैले रुचाएका थिए।

त्यस्तै बार्सिलोनामा बस्दै आएकी अर्की गायिका सुमी घिमिरेले पनि लोकदोहोरीमा निरन्तरता दिदै आएकी छन्, गीत रेकर्ड कै लागि नेपाल नगए पनि नेपाल जादा रेकर्ड गरि नै रहेकी छन् भने कहिँले काही यतै स्टुडियोमा पनि गाउने गरेकी छन्, माछा पानीमा बोलको गीत सुमी घिमिरेको पछिल्लो गीत हो।

फिनल्याण्डमा लामो समयदेखि बसेकी अर्की लोकदोहोरी गायिका बिनिता लामिछाने गीत रेकर्डकै लागि अहिले  नेपाल गएकी छ्न्। उनले लोक दोहोरी, आधुनिक, रोइला गरेर कम्तिमा ३ वटा गीत रेकर्ड गरेर युरोप फर्कदै छन्, बिनिता लामो समय स्टेज दोहोरीमा काम गरेकी गायिका हुन्।  मिलन लामासँग गाएको जोर मादल घनन विनिताको पहिलो रेकर्डेड गीत हो।

लोकदोहोरीमा क्रियाशील हुने कलाकारको नाममा फिनल्याण्डमा बस्ने नबिन भट्टराईको नाम पनि अगाडि आउछ। १५ बर्षे लामो बसाई सँगै एक महिना अगाडी नेपाल गएका भट्टराईले ‘तिम्रै झल्को दियो’ बोलको दोहोरी गीत देबी घर्ति मगरसँग गाएर आएका छन् जुन गीत भर्खर मात्र सार्बजनिक भएको छ।

गत बर्ष बिध्याबारिधिको सिलसिलामा पेरिसमा भित्रिएका गीतकार एबम संगीतकार शिब सुबेदीले पनि गीत लेखिरहेका छ्न्। पेरिस आएपछि नै कम्तिमा पाँच वटा गीत रेकर्ड गराइसकेका उनले युरोपमा बस्ने गायक गायिकाको लागि पनि गीत लेखिरहेका छन्, नबिन भट्टराई, बिनिता लामिछाने, जापानमा बस्ने अर्का गायक सुर्य खड्का लगायतलाई शब्द संगीत सिर्जना गरेर विदेशबाट नेपाली संगीतमा लाग्न चाहनेहरुलाई सहज बनाउदै आएका छन्।  सुबेदीको पछिल्लो गीत ‘तिम्रै झल्को दियो’ गायक नबिन भट्टराईको लागि लेखेको गीत हो।

युरोपेली मुलुक पोर्तुगलमा अरु देश भन्दा बढी कलाकारहरु बस्दै आएका छन्। पूर्ण अर्याल, शम्भु शिलवाल, जे बि ओली लगायतले बिभिन्न कारणले रेकर्ड गीत मार्फत गीत संगीतमा निरन्तरता दिन नसके पनि युरोपमा हुने कार्यक्रममा उपस्थित भएर आफुलाई क्रियाशील राख्दै आएका छन्।

यसै क्रममा युरोपमा बस्दै आएका लोकदोहोरीसँग  सम्बन्धित कलाकारहरुले ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ‘ को युरोप शाखा गठन गरेका थिए, जुन शाखाको अध्यक्षमा स्पेन निबासी सुमी घिमिरे सापकोटा रहेकी छन्।