सर्बाधिक राशिको राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा हुने


कृष्ण रानाभाट/पोखरा । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको आयोजना र सृजना बिकास केन्द्रको संयोजनमा पोखरामा सर्बाधिक राशिको सृजना आमन्त्रण महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख ५५ हजुर पाँच सय ५५, मेडल प्रमाणपत्र र ट्रफी र द्वितीय हुनेलाई टिमलाई नगद ७७ हजार सात सय ७७, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बलको एपिफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, न्यु डायमण्ड एकेडेमी हेल्प नेपाल स्पोर्ट्स क्लबका टिम लगाएतको सहभागीता रहने सो अबसरमा जानकारी गराइएको थियो ।

पहिलो पटक भलिबल रबर म्याट प्रयोग गरीने उक्त भलिबल प्रतियोगितामा १८ लाख ६५ हजार लाग्ने अनुमान गरिएको र सो रकम मुख्य प्रायोजक, प्रायोजक, ब्यानर, गेट र टिकट बिक्री बाट प्राप्त हुने आयोजकले आशा गरेको छ ।

२०७३ माघ १८ गतेदेखि २२ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगितालाई कास्की जिल्ला खेलकुद बिकास समितिको बिशेष सहयोग, नेपाल भलिबल संघको स्वीकृती, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघको ब्यबस्थापनमा सम्पन्न हुनेछ ।

म्याग्दी जिल्ला बेगखोला घर भई अमेरीका बस्दै आएका याम गर्वुजाले पश्चिमाञ्चल महिला भलिवल संघलाई पठाएको टिमसेट जर्सी कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पश्चिमाञ्चल महिला भलिवल टिमकी कप्तान मञ्जु गुरुङलाई जर्सी हस्तान्तरण गरेका थिए ।

प्रतियोगितालाई सृजनाको ७ लाख

प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सृजना विकास केन्द्रबीच प्रतियोगितामा मुख्य प्रायोजन गर्नेबारे सम्झौता भएको हो ।

सम्झौता पत्रमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट समितिका अध्यक्ष खगराज पौडेल र सृजना विकास केन्द्रको तर्फबाट केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिवल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको बताउँदै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने बताए ।

सम्झौता अनुसार सिर्जना विकास केन्द्रले मुख्य प्रायोजक वापत आयोजकलाई ७ लाख रुपैया दिनेछ । आयोजकले प्रतियोगिताको प्रवेश टिकट वापत भएको आम्दानीको १० प्रतिशत द्धन्द पिडीत वालवालिकाको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सिर्जना विकास केन्द्रलाई दिने सम्झौतामा उल्लेख छ ।