पश्चिमाञ्चलमा भए एक वर्षमा ६ सय १० मानवअधिकार उल्लघनका घटना


राजाराम पौडेल,पोखरा- नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ का लागि पश्चिमाञ्चल क्षेत्रीय कार्यलयले अभिलेखिकरण गरेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको बारेमा कार्यक्रममा छलफल गरिएको छ । कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा भएको हो ।

कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेलले इन्सेक क्षेत्रीय कार्यलयले सन २०१६ जनवरीदेखि डिसेम्बर सम्म अभिलेख गरेका ६ सय १० वटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा राज्यका तर्फबाट १५ जना महिला र ६७ जना पुरुष गरी ८२ जना पीडित भएको र गैह्र राज्यका तर्फबाट भएका घटनामा ५ सय ३७ महिला र ८२ पुरुष गरी ६ सय १९ जना पीडित भएको विवरण उल्लेख गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् पश्चिमाञ्चल उपक्षेत्रीय प्रशासक गणेश बहादुर अधिकारीले वर्ष पुस्तक प्रकाशन तयारीमा रहेको इन्सेकले आर्थिक सामाजिक विषयसंग सम्बन्धित घटनालाई समेत वर्ष पुस्तकमा विस्तृत रूपमा समेट्नुपर्ने सुझाव दिँदै गैह्रसरकारी र सरकारी निकाय समन्वयात्मक रूपमा अघि बढेमा मात्रै मानव अधिकारको पूर्ण पालनाको वातावरण तयार हुने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी अंचल प्रहरी कार्यलय पोखराका वरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले मानव अधिकार प्रदान गर्ने क्रममा राज्य कुन ठाउँमा कमजोर भएर सेवा प्रदान गरिरहेको छ र जनताले सेवा पाएका छैनन् भन्ने बारेमा पनि समेट्नुपर्ने बताए । कार्यक्रममा बोल्दै इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले कार्यक्रममा राखिएका सुझावहरूलाई वर्षपुस्तकमा समेटिने बताए ।

कार्यक्रममा अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटा, जिल्ला न्यायधिवक्ता गंगा प्रसाद पौडेल, मानव अधिकार संरक्षण मञ्च कास्की अध्यक्ष कमल प्रसाद अर्याल, कास्की कारागार प्रमुख हरि प्रसाद गौतम, प्रगतिशिल कानुन व्यवसायी संघ कास्की अध्यक्ष शुकदेव गौतम, दलित जिल्ला समन्वय समिति कास्कीका उपाध्यक्ष दुर्गा बहादुर सुनार, पोखरा उच्च अदालत बार एसोसियसनका अध्यक्ष दयाराम गौतम, नागरिक संवाद केन्द्रका अध्यक्ष जुना कुमारी गुरुङ, मानव अधिकार एलाईन्स कास्की सचिव राजेश पराजुली, जिल्ला बार एसोसिएशन कास्की अध्यक्ष सोम बहादुर श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जाल कास्की संयोजक जानकी शर्मा, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की संयोजक ढाकाराम पौडेल, राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सुर्य बहादुर देउजा, उच्च सरकारी वकिल कार्यलयका सहन्यायधिवक्ता सुरेन्द्रजंग शाही, मानव अधिकारकर्मी टेकनाथ वराल, राप्रपा कास्कीका सचिव शेर बहादुर ढकाल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी लगायतले मन्तव्य र सुझाव राखेका थिए । इन्सेक क्षेत्रीय कार्यक्रमइन्सेक क्षेत्रीय कार्यलय पोखराका कार्यक्रम संयोजक सवनम शर्माले सञ्चालन गरेको अन्र्तक्रिया कार्यक्रममा पोखराका प्रलेख अधिकृत सुमित्रा भट्टराईले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्द्श्यमाथि प्रकाश पारेकी थिईन् ।