अभिनय गर्दा गर्दै ‘ओ माई लभ बा’ ले परिचित फुयाँलको निधन


काठमाडौं । रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको निधन भएको छ । टेलिचलचित्र तितो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका उनको राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा गर्दै निधन भएको हो ।

नाटकमा उनी महर्षिको भूमिकामा अभिनय गर्दै थिए । त्यसक्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् ।

चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका छन् । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । भोलि विहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ ।

झण्डै ५ दशकदेखि रंगक्षेत्रमा सक्रिय फुयालका बाध्यता र सहिदको सपना नाट्यसंग्रह समेत प्रकाशित भएको छ ।