अर्बौं रुपैयाँ हिनामिना गरी फरार रहेका व्यवसायी सुधीर बस्नेत पक्राउ (छापाबाट)


सर्वसाधारणको अर्बौं रुपैयाँ हिनामिना गरी फरार रहेका हाउजिङ व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् । ओरेन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ) आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत अदालतको फैसला कार्यान्वयनका क्रममा बुधबार धापासीबाट पक्राउ परेका हुन् । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले व्यवसायी बस्नेतलाई दोषी ठहरसहित बिगो र जरिवानाको फैसला सुनाए पनि उनी फरार थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीका अनुसार ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले ०७२ चैत १६ गते दोषी ठहर गर्दै २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ०७३ असार ३० गते ६ महिना कैद र ४ लाख ९४ हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

सहकारीको रकम ठगी मुद्दामै बस्नेतविरुद्ध भक्तपुर जिल्ला अदालतले ०७२ मंसिर ७ गते २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो । “अदालतबाट दोषी ठहर भएपछि फरार रहँदै आएका बस्नेतलाई विशेष सूचनाका आधारमा काठमाडौंको धापासीबाट फक्राउ गरिएको हो,” एसपी कार्कीले भने, “फैसला कार्यान्वयनका लागि बुधबार नै बस्नेत कारागार चलान भएका छन् ।”

पारिवारिक भेटघाटका क्रममा काठमाडौं आएको सूचना पाएपछि उनको निगरानीमा महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली परिचालित थियो । सहकारी र हाउजिङ सञ्चालन गर्नेक्रममा बस्नेतले हाउजिङका ग्राहक तथा सहकारी निक्षेपकर्ताको ६ अर्ब ८६ करोड रुपैयाँ हिनामिना गरेको न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

३ वर्षअघि विशेष अदालतका तत्कालीन अध्यक्ष (मुख्य न्यायाधीश) गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ‘बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोग २०७०’ले पनि ओरेन्टलसहित विभिन्न सहकारी पीडित सर्वसाधारणको निक्षेप फिर्तासम्बन्धी विशेष कदम चाल्न सरकारलाई सुझाव दिएको थियो ।

सरकारी कमजोरीकै कारण ओरेन्टलसहितका सहकारीमा हजारौं नागरिकको रकम जोखिममा परेको न्यायाधीश कार्कीको भनाइ छ ।