छुटटै राज्य बनाउने षडयन्त्रका साथ आएको संसोधन प्रस्ताव स्वीकार्य हुदैन : सचिव गुरुङ


राजाराम पौडेल, पोखरा – नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले छुटटै राज्य बनाउने षडयन्त्रका साथ भारतको डिजाइनमा आएको संविधान संसोधन प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन् । तमु ल्होसार, मागी, उभौली र भुजेली लगायत नेपाली सांस्कृतिक पर्वको अवसरमा नेपाल लोकतान्त्रिक आदीबासी जनजाती महासंघ कास्कीले सोमबार पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सचिव गुरुङले संविधान सभा नभएका कारण रुपान्तरित संसदलाई संसोधन हुनै नसक्ने बताए । उनले सरकारले संसदमा दर्ता गरेको संसोधन प्रस्ताव असंवैधानिक र राष्ट्रहित विपरित रहेको बताए । ‘रुपान्तरीत संसदलाई संसोधन गर्ने अधिकार छैन, त्यसैले संविधान विपरित छ ’उनको भनाई थियो ।

उनले सिमाङकन हेरफेर हुन सक्ने भन्दै त्यसका लागी प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश बन्नुपर्ने बताए । प्रदेश सभाले प्रस्ताव पेश गरेर राष्ट्रिय र प्रतिनिधि सभामा छलफल गरेर मात्रै सिमाङकन हेरफेर गर्न सकिने ब्यवस्था संविधानमा रहेको बताउदै सरकारले संविधान विपरित काम गरेको आरोप लगाए । उनले नेकपा एमाले रहदा सम्म संसोधन प्रस्ताव पारित हुन नदिने दावी गरे । उनले नेपालको भौगोलिक खण्डता, सार्वभौमसत्ता जस्ता विषयमा संविधान संसोधन हुन नसक्ने प्रावधान रहेको बताउदै भौगोलिक एकता खलबलिने गरि आएको संसोधन प्रस्ताव स्वीकार्य नहुने बताए । उनले पहाडबाट मधेशलाई टुक्याएर छुटटै राज्य बनाउने षडयन्त्रका साथ भारतको डिजाइनमा आएको आरोप लगाए ।‘भारतको इच्छा सिङगो मधेशलाई एक राज्य बनाउने र स्वतन्त्र राज्य बनाउने योजना अनुसार संसोधन प्रस्ताव आएको छ ।’

नेपाल लोकतान्त्रिक आदीबासी जनजाती महासंघका अध्यक्ष समेत रहेका गुरुङले आदीबासी जनजातीका अधिकारका पक्षमा ओकालत गर्ने पार्टी एमाले भएको बताउदै एमाले जनजाती, मधेशी विरोधी नभएको बताए । आदीबासीका नृत्यहरु सडकमा देखाएर आदीबासीको हित नहुने भन्दै उनीहरुलाई राज्यका प्रमुख निकायमा प्रतिनिधित्व गराउनु र नीति निर्माणका स्थानमा पुर्याउन सकेमात्रै अधिकार स्थापित हुने बताए । नेपाल बहुजाती, बहुभाषा र बुहसंस्कृति भएको देश भएकाले समाजमा रहेका असमानता अन्त्य गदै समानुपातिक प्रतिनिधित्व नै जनजातीको अधिकार स्थापित गर्ने आधार हुने बताए ।

आदीबासी जनजाती महासंघका पूर्व उपाध्यक्ष सुर्यबहादुर भुजेलले नेपाल सवै जाती र भाषाभाषीको साझा फुलबारी नेपाल भएको बताउदै सरकारले समान अवसर प्रदान गर्नुपर्ने बताए । कार्यक्रम नेपाल लोकतान्त्रिक आदीबासी जनजाती महासंघ कास्कीका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष ओम गौचन र संचालन सचिव डिवी राईले गरेका थिए । कार्यक्रममा मगरजातीको सांस्कृतिक नृत्य कौरा र गुरुङ जातीको घाटु नृत्य प्रस्ततु गरिएको थियो ।