महिलाबाट पुरुष बन्न सच्याइपाउँ भन्दै गृहमा निवेदन (छापाबाट)


काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो । त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्ने अवस्थासमेत निम्त्यायो । काभ्रेका दनुवार थरका ती नागरिकको निवेदनमा आफू पुरुष भएको जनाउँदै नागरिकतामा लिंग महिला लेखिएको व्यहोरा सच्याइपाउँ भनिएको थियो ।

नागरिकता लिँदा आफू महिला भएको तर कालान्तरमा पुरुष हर्मोन बढेको र पुरुषकै स्वभाव वृद्धि भएकाले आफू पुरुष नै भएको निक्र्योलमा पुगेको उनको निवेदनमा उल्लेख छ । धुलिखेलस्थित अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले पनि पुरुष नै भएको मेडिकल सिफारिसका साथमा उनले जिप्रकामा नागरिकतामा लिंग परिवर्तन गरिपाउँ भन्ने निवेदन दिएकी थिइन् । मौजुदा कानुनमा लिंग परिवर्तनको कुनै व्यवस्था नभएकाले जिप्रकाले उक्त निवेदन गृह मन्त्रालय पठाइदिएको थियो ।
वि।सं। २०६८ माघमा कलाकार सन्तोष पन्तका छोरा प्रतीक लिंग परिवर्तन गरेर छोरी बनेका थिए । थाइल्यान्डको एक क्लिनिकमा लिंग परिवर्तन गरेपछि उनले आफ्नो नाम केटलिन त बनाए नै गृह मन्त्रालयको नागरिकता फाँटमा लिंग परिवर्तनका निम्ति निवदेनसमेत दिए । फाँटले त्यतिबेला आवश्यक मेडिकल प्रमाणका आधारमा गृह सचिवकहाँ सिफारिस गर्योे । लिंग परिवर्तनको निर्णयका निम्ति गृह मन्त्रालयले त्यतिबेला मन्त्रिपरिषदको स्वीकृति लिएको थियो ।

नागरिकता फाँटले दनुवारको निवेदनउपर आवश्यक रायका निम्ति स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्योँ । स्वास्थ्यले दनुवारको फाइल आवश्यक परामर्शका निम्ति नेपाल मेडिकल काउन्सिलमा पठायो । काउन्सिलले आवश्यक प्रक्रियाका निम्ति वीर अस्पताल सञ्चालन गरिरहेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा पठायो । वीर अस्पतालमा गरिएको बायोलोजिकल परीक्षणले उनी पुरुष नै भएको ठहरसहितको पत्र नागरिकता फाँटमा पठायो ।

त्यसपछि फाँटले थप आवश्यक स्वीकृति र प्रक्रियाका लागि गृह सचिव लोकदर्शन रेग्मीकहाँ सिफारिस गर्योे । नागरिकता फाँटका प्रमुख सागरमणि पाठकका अनुसार विदेश भ्रमणमा रहेका सचिव रेग्मी फर्किनेबित्तिकै यो फाइल अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइनेछ । मन्त्रिपरिषद्ले स्वीकृति दिए दनुवारको नागरिकतामा भएको महिलाको परिचय हटाएर पुरुष बनाइनेछ ।

ट्रान्सजेन्डर अर्थात् लिंग परिवर्तनको अभ्यास विश्वमा नयाँ भने होइन । थाइल्यान्ड लिंग परिवर्तनका निम्ति विश्वकै आकर्षक गन्तव्यका रूपमा रहेको छ ।

फाँटका एक कर्मचारीका अनुसार दनुवारबाहेक अर्का एकजना पुरुष पनि लिंग परिवर्तनबारे बुझ्न आएका छन् । ती कर्मचारीका अनुसार कानुनी प्रक्रिया सहज हुने भए आफूले लिंग परिवर्तन गर्न आँटेको उनको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।