नयाँ बस्ती बन्ने भएपछि मुसहर बस्तीमा दीपावली


महोत्तरी । धुर्मुस-सुन्तली फाउण्डेसनले एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेसँगै बर्दिवासका मुसहरको मुहारमा खुसी छाएको छ । गासबासकै अभाव झेलिरहेका उनीहरुले व्यवस्थित बस्ती र पक्की घर पाउने भएपछि वुधबार साँझ दिपावली गरेर हर्षोल्लासपूर्वक खुसी मनाएका हुन् ।

वुधबार साँझ स्थानीय दिनाभद्री मन्दिरमा भेला भएर उनीहरुले सामुहिक रुपमा दिपावली गर्दै आपसमा खुसी बाँडेका हुन् । दाउरा बेचेर जसोतसो गुजारा चलाइरहेका मुसहर जातिले एकीकृत बस्ती निर्माणमा आफ्नै गाउँ रोजिएकामा आभार प्रकट गरेका छन् । ‘हामीलाई खानलाउनै धौ-धौ थियो, अब एकीकृत बस्ती बनेपछि अलि सुख पाइन्छ कि !’ स्थानीय सञ्जय सदाले भने, ‘एकीकृत बस्ती निर्माण गर्न धुर्मुस-सुन्तलीले हाम्रो गाउँ छानेकोमा हामी धेरै खुसी छौं ।’musahar002

हास्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले बुधबार उक्त गाउँमा एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका थिए । उक्त बस्तीमा ५० परिवार मुसहरको बसोबास छ । अघिल्लो वर्ष सरसफाइ कार्यक्रमकोक्रममा धुर्मुस-सुन्तली मुसहर बस्ती पुगेका थिए । उक्त कार्यक्रममा जाँदा उनीहरुले मुसहरको स्थिति दर्दनाक देखेपछि सहयोग प्रयास गरेका थिए । धुर्मुस-सुन्तलीले अघिल्लो वर्ष हिउँदमा उक्त बस्तीमा न्यानो कपडा वितरण गरेका थिए ।

यसअघि भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा सफलतापूर्वक एकीकृत बस्ती बनाएर स्थानीयलाई हस्तान्तरण गरेका थिए । बर्दिवासमा बन्ने मुसहर बस्ती बालमैत्री, र सरसफाइयुक्त हुने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।