मुसहर बस्ती निर्माण सहयोगार्थ,स्पेनमा रकम संकलन सुरु


बार्सिलोना/ हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को तेश्रो एकिकृत बस्ती निर्माण सहयोगका लागि स्पेनमा रकम संकलन सुरु भएको छ। प्रबासी नेपाली मञ्च स्पेनको पहलमा रकम संकलन सुरु भएको हो। भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरे लगत्तै मञ्चले रकम संकलन गरेर पठाउँने निर्णय गरेको अध्यक्ष दिनेश गुरुङ्ले जानकारी दिए।

उनले भने,”नयाँ बर्षका लागि हाम्रो संस्था भित्ते पात्रो पनि तयार गरेका छौ,यसको बिक्रीबाट रकम संकलन गर्दै धुर्मुस सुन्तलीको परोपकारी कामका लागि छुट्टाउँने छौ,साथमा स्पेन स्थित संघ संस्था तथा नेपाली समुदायसँग समन्वय गरी यो अभियानलाई तिब्रता दिने हाम्रो लक्ष्य रहेको छ।”design-mushar-21122016102948-1000x0

गएको वर्ष सरसफाईका क्रममा धुर्मुस सुन्तली उक्त बस्तीमा पुगेका थिए। चरम गरिबीको चपेटामा रहेका मुसहर दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छन। शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष धुर्मुस सुन्तलीले न्यानो वितरण समेत गरेका थिए।

गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफुहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन्।

४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकिकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन्। मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सम्पूर्ण सहयोगी मन समक्ष उनले आग्रह गरेकी छिन्।

‘दुईवटा बस्ती निर्माण सम्पन्न गरिसकेपछि अझै बढी जिम्मेवारी बढेको महसुस गर्दै चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नयाँ परियोजनाको घोषणा गरेका हौँ,’ उनले भनिन्।