साँगीतिक प्रस्तुतीका लागि आले र भण्डारी बेलायत प्रस्थान


छैठौँ बिग आइकन साजन आले र बिग एफएमका अध्यक्ष महेश भण्डारी

पोखरा । छैठौँ बिग आइकन साजन आले साँगीतिक प्रस्तुतीका लागि बेलायततर्फ प्रस्थान गरेका छन् । बिग एफएमका अध्यक्ष महेश भण्डारीसहित उनी त्यसतर्फ लागेका हुन् । द ब्रिटिश कलेजको ‘सिस्टर अर्गनाइजेसन’ नेपालीपत्रको निम्तोमा उनीहरु यूकेतर्फ लागेका हुन् । साजन आले र महेश भण्डारी यूकेमा १० दिनसम्म रहनेछन् ।

१० दिनको यूके बँसाईको त्रmममा बिग आइकन साजन आलेले यूकेका मुख्य शहरहरुमा रहेका नेपाली समुदायबीच आफ्नो प्रस्तुती राख्नेछन् । ‘ल्होसार र क्रिसमस विशेष कार्यक्रमहरुमा प्रस्तुती राख्ने कुरा भएको छ ।’ आलेले भने–‘एकदमै एक्साइटेड छु । र, आफुलाई निकै भाग्यमानी ठानेको छु ।’

बिग आइकन भएकै कारण आफुले यूके जस्तो मुलुकमा साँगीतिक प्रस्तुती राख्न पाएकोमा उनले खुशी व्यक्त गरे । ‘यो मेरो लागि निकै ठुलो मौका हो । बिग आइकन गर्ने बिग एफएम र मलाई निम्तो दिने संस्था द ब्रिटिश कलेज तथा नेपालीपत्रप्रति म कृतज्ञ छु ।’ उनले भने ।

यूके प्रस्थान गर्नुपुर्व बिग एफएमका अध्यक्ष महेश भण्डारीले यो साँगीतिक यात्राले बिग आइकनको अन्तराष्ट्रिय प्रभाव देखाउने बताए । ‘हामीले प्रतिभाहरु जन्माउँदैनौ मात्रै, बरु उनीहरुलाई अझै फराकिलो बनाउँदै लैजान्छौँ ।’ भण्डारीले भने–‘बेलायतको साँगीतिक यात्रा नै यो कुराको लागि गज्जबको उदाहरण हो ।’ साथै उनले बिग आइकनका लागि यस्तो खाले अवसर दिएकोमा द ब्रिटिश कलेज र नेपालीपत्रलाई धन्यवाद समेत दिए ।

१० दिने यूके बँसाईको सम्पूर्ण बन्दोबस्त यूकेस्थित ‘नेपालीपत्र’ले नै गर्नेछ । ‘नेपालीपत्र’ यूकेबाट निस्कने नेपाली भाषाको पत्रिका हो । यो पत्रिका द ब्रिटिश कलेजको मातहतमा रहेर निस्कँदै आएको छ । काठमाण्डौको थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ले नेपालमै बेलायतकै यूनिभर्सिटीको सम्बन्धनमा विद्यार्थीहरुलाई शिक्षा दिँदै आएको छ ।

अन्तराष्ट्रियस्तरको शिक्षा दिँदै आएको यो संस्थाले बिग आइकनका विजेतालाई यूकेको साँगीतिक भ्रमणको व्यवस्था मिलाउँदै आएको छ । यस अगाडि अर्का बिग आइकन मुस्कान रानाभाट पनि यूकेको साँगीतिक भ्रमण गरिसकेकी छन् । सातौँ सँस्करणको बिग आइकन विजेताले पनि यो बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर पाउनेछन् । यो पटक पनि द ब्रिटिश कलेज ‘प्रमोटेड बाइ’ टाइटलमा बिग आइकनमा जोडिएको छ ।

आइतबार बिग आइकन साजन आले र बिग एफएमका अध्यक्ष महेश भण्डारीलाई यूके प्रस्थान गर्नुअघि अन्तराष्ट्रिय विमानस्थलमा पुगेर बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्याल, एफएमका अफिसियल ज्योतिष हरिहर अधिकारी र सल्लाहकार राजन गोदारले बिदाई गरेका थिए ।