पोखराको सराङकोटमा केबलकार निर्माणकाे शिलान्यास


राजाराम पौडेल,पोखरा – सुन्दर नगरी पोखराको सराङकोटमा केबलकार निर्माण  सुरु भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल सराङकोटलाई लक्षित गरेर केबलकार निर्माण गर्न लागेको हो । अन्नपूर्ण केबलकारको नाममा निर्माण हुन लागेको नयाँ केबलकारको बुधवार शिलान्यास गरिएको छ ।

पोखरा उपमहानगरपालिका वडा नम्बर २६ सेदीबगर स्थित तल्लो स्टेशन र सराङकोट स्थित माथिल्लो स्टेशनमा भूमि पूजा गरी निर्माण कार्यको थालनी गरिएको हो । केबलकार निर्माणको अन्य काम भने एक महिनापछि सुरु हुने निर्माण कम्पनीले जनाएको छ ।  आगामी डेढ बर्षभित्र सञ्चालनमा ल्याउने गरी केबलकार निर्माण गर्न लागिएको निर्देशक तीर्थ त्रिपाठीले जानकारी दिए ।

पोखरा २६ सेदीबगरदेखि सराङकोट सम्म दुई दशमलब दुई किलोमिटरको दुरीमा केबलकार बनाउन लागिएको हो । केबलकार निर्माणको लागि कालु गुरुङको ७५ प्रतिशत, जापानी ब्यवसायी ताकासी मियाहाराको १५ र स्थानियको १० प्रतिशत सेयर लगानी हुनेछ । केबलकार निर्माणका लागि झण्डै ८० करोड रुपैया लगानी अनुमान गरिएको मुख्य लगानीकर्ता गुरुङले बताए ।

केबलकार निर्माणको स्थानिय परामर्शदाता रोप वे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालका अनुसार सेदीवगरमा केबलकारको तल्लो स्टेशन र माथिल्लो स्टेशन सराङकोटमा हुनेछ । दुई वटा स्टेशनलाई केबलले जोड्नेगरी १३ वटा टावर बन्नेछन् । प्रत्येक टावर ३ सय १६ मिटरको फरकमा हुनेछ । प्रतिघण्टा पाँच सय यात्रु ओसार्ने गरी १७ वटा डिब्बा हुनेछन् । एउटा डिब्बामा ८ जना यात्रु अट्नेछन् । यात्रु बढेमा पछि क्षमता विस्तार गर्न सकिने र भविश्यमा ३५ वटा डिब्बा सञ्चालन गरी प्रतिघण्टा एक हजार यात्रु ओसार्न सकिने ढकालले बताए ।
उनका अनुसार यात्रु सहितको डिब्बा प्रति सेकेण्ड पाँच मिटरका दरले अघि बढ्नेछ । तल्लो स्टेशनबाट माथिल्लो स्टेशनमा पुग्न करिब ७ मिनेटको समय लाग्नेछ ।

केबलकार निर्माणको जिम्मा चितवन को ईले पाएको छ । यसअघि चितवन को ईद्धारा निर्मित मनकामना केबलकार अहिले सञ्चालन भैरहेको छ । मनकामना केबलकारमा भन्दा पनि पोखराको अन्नपूर्ण केबलकारमा नयाँ प्रबिधि जडान हुने प्राबिधिकले बताए । चितवन को इले इपिसी मोडलमा पूर्वाधार निर्माण गरी अन्नपूर्ण केबलकार प्रालिलाई हस्तान्तरण गर्नेछ ।

केबलकारको तत्लो र माथिल्लो दुई वटा स्टेशनका लागि १५र१५ रोपनी क्षेत्रफल जमिन प्रयोग हुनेछ । दुई स्टेशनको विचमा पर्ने झण्डै २४ रोपनी जंगल सरकारसँग सट्टाभर्नामा लिइएको छ । केबलकार निर्माणका लागि आबश्यक सो जंगल सरकारले कम्पनीलाई ४० बर्षको लागि भोगाधिकार दिएको छ ।  केबलकार निर्माणपछि पर्यटक आगमन पनि बढ्ने बिश्वासका साथ पोखरेली पर्यटन ब्यवसायी पनि खुसी भएका छन् ।