सरकारले सुरु गरेको घुमफिर बर्ष प्रभावकारी हुन सकेन : शाक्य


राजाराम पौडेल,पोखरा – होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले सरकारले सुरु गरेको घुमफिर बर्ष प्रभावकारी हुन नसके पनि सन् २०२० को भिजन ट्वान्टीलाई सफल पार्न होटल संघले आफ्नो तयारी अगाडि बढाइहेको बताएका छन् ।
पश्चिमाञ्चल होटल संघ पोखराले निर्माण गरेको नयाँ भवनको  उद्घाटन गदै उनले संघ सधैं नेपाल पर्यटन बोर्ड र आफ्ना सदस्य संस्थाहरुसँग हातेमालो गर्दै पर्यटनलाई अगाडि बढाउन तयार रहेको बताए । संघ बुधबारदेखि आफ्नै नयाँ भवनमा सरेको छ । लेकसाइडको मुटु डिहिको पाटन स्थित नवनिर्मित चार तले भवन निर्माण भएको छ ।

नयाँ भवनसँगै पश्चिमाञ्चल होटल संघले आफ्ना सदस्यलाई प्रदान गर्ने सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । सचिवालय, हल तथा व्यापारिक सटरसहितको तीन आना क्षेत्रफलमा बनेको भवनबाट संघले आफ्नो सेवा सुरु गरिसकेको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले आठ महिनाको अवधिमा स्मृति कन्स्ष्ट्रक्सनले संघको भवन तयार पारेको जानकारी दिए । होटल संघ नेपाल, क्षेत्रीय संघका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुबाट रकम संकलन गरी भवन तयार गर्न संभव भएको उनले सुनाए । सो अवसरमा पराजुलीले पर्यटन क्षेत्रमा पनि होटल क्षेत्र सबैभन्दा बढी लगानी भएको क्षेत्र भएको स्मरण गराउँदै लगानीको संरक्षणका लागि व्यवसायिक एकताको जरुरी भएको आबश्यकता औंल्याए।

संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार हरिध्वज तुलाचनले पर्यटन क्षेत्रमा प्रचार र आफ्नो पन सबैभन्दा ठूलो कुरा भएको बताउँदै होटल क्षेत्र र समग्र नेपाली पर्यटनको विकास तथा प्रवद्र्धनका लागि सम्बन्धित सबै पक्ष गंभीर भएर अगाडि बढ्नुपर्ने सुझाव राखे ।

संघका पूर्व अध्यक्ष, सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले टिमवर्क र मेहनतका कारण संघ आफ्नै भवनमा सर्न सफल भएको बताउँदै हितकारी मनहरुलाई धन्यवाद दिए । पोखरालाई आफूहले उत्सव र महोत्सवको शहर बनाउन खोजिरहेको बताउँदै अंग्रेजी र नेपाली नयाँ वर्ष जस्तै नेपालमा चिनिया नयाँ वर्ष मनाउने तयारी पनि आफूले गरिरहेको बताए । नयाँ वर्ष मनाउन भारतको गोवा गए जस्तै नेपालमै मनाउने प्रचलन पनि पोखरेली व्यवसायीले सुरु गरेको बताउँदै फरक पोखराको खानेपानी मुहान क्षेत्रको सरसफाई र संरक्षण योजनामा सबैको सहयोगको अपेक्षा उनकाे थियो ।

संघका सल्लाहकार एवं पूर्व अध्यक्ष लक्ष्मीबहादुर भट्टराईले पर्यटनको विकासमा संघले उल्लेखनीय भूमिका खेल्दै आएको बताए। संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन संस्थाका महासचिव भेकेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।