बैदाम तामाङ्ग समाजले मिस तामाङ्ग पोखरा आयोजना गर्ने


राजाराम पौडेल,पोखरा- बैदाम तामाङ्ग समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा आयोजना गर्ने भएको छ । अघिल्लो वर्ष देखि शुरु गरिएको मिस तामाङ्ग प्रतियोगिता माघ ८ गते पोखरा सभागृहमा गरिने आयोजक बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । २८५३ औं सोनाम ल्होसारको अवसरमा हुने प्रतियोगिताका लागि पोखरामा रहेका तामाङ्ग समुदायका १२ जना युवतीहरुको सहभागिता रहेको छ । सहभागि प्रतियोगीहरुमा पोखरा लेकसाइडका सृष्टि लामा, अञ्जली लामा, मालेपाटनका अरुणा लामा, संगीता तामाङ्ग, लेखनाथका सीता तामाङ्ग, मन्जु तामाङ्ग शान्तीनगरका जीता लामा, सिम्पानीका रिमा तामाङ्ग, न्युरोडका मालिका तामाङ्ग, बगरका जगनकुमारी तामाङ्ग, जिरोकिलोमिटरका पुनम तामाङ्ग र भेडिफारामका प्रिया तामाङ्ग रहेका छन ।

समुदायमा रहेका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति आकर्षण बढाउन तथा जातिय संस्कार संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा आयोजना गरिएको कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए । प्रतियोगिता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ्ग संस्कार र संस्कृतिको प्रबद्र्धन हेतु गर्न लागिएको तामाङ्गले बताए ।

प्रतियोगीहरुलाई डेढ महिना लामो तामाङ्ग भाषा संस्कार र संस्कृति तथा ब्यक्तित्व बिकास सम्बन्धी तालिम दिइने तालिम सह–संयोजक जयन्ती मोक्तानले बताए । अहिले सम्म तामाङ्ग भाषा र संस्कृति सम्बन्धी मिङ्गमार तामाङ्ग, दिपक वाइवा तामाङ्ग, सार्वजनिक भाषण कला बारे पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल, नेतृत्व बिकासका बिषयमा र्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल, पोखरा मन्टेश्वरीका निर्देशक थिरबहादुर थापाले सहजीकरण गरिसकेका छन् । कार्यक्रमका कोरियोग्राफर सृष्टि सेञ्चुरी हुन् । माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा चन्द्र दोङ्ग तामाङ्ग लगायतका कलाकारका प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्य आकर्षण रहेका छन् । समाजले कार्यक्रमबाट बचेको रकम लेकसाइड खहरेमा निर्माणाधिन गुम्वाका लागि खर्चिने अध्यक्ष ज्याक तामाङ्गले बताएका छन् ।