जीवाको ‘सरसर्ती संसार’ सार्बजनिक


काठमाडौं । व्यवसायी तथा गैरआवासीय नेपाली संघ(एनआरएन) का अभियन्ता जीवा लामिछाने लेखक अवतारमा प्रस्तुत भएका छन् । लामिछानेको पहिलो पुस्तक ‘सरसर्ती संसार‘ नियात्रा संग्रह राजधानीमा सार्वजनिक गरियो ।

पुस्तक सार्वजनिक गर्नुअघि लेखक लामिछानेलाई पत्रकार देवेन्द्र भट्टराईले प्रश्नोत्तर शैलीमा प्रस्तुत गरेका थिए । त्यस क्रममा लेखकले पुस्तकका विभिन्न विषयबारे उठाइएका शंका र जिज्ञासा मेटाएका थिए । विभिन्न देशको यात्रा गर्दाका रोचक प्रसंगदेखि आफूले किताब लेख्नुको उद्देश्यसम्म उनले सुनाए ।

कार्यक्रम प्रस्तोता भट्टराईले सोधे, ‘एनआरएनका अगुवाको रुपमा धेरै देशका नेपालीहरुबीच पुलको काम गर्नुभयो, नेपालीहरुको बाक्लै बसोबास रहेका देशहरुमा जाँदा पनि तिनका भोगाइबारे किताबमा किन त्यति कुरा नआएको ?’

लामिछानेले आफू एनआरएन अभियानसँग आबद्ध भएको हिसाबमा आफ्नो पुस्तकबाट धेरै जनाले विदेशमा रहेका नेपालीहरु र वैदेशिक रोजगारीका बारेमा लेखिएको अपेक्षा गरे पनि त्यतातिर धेरै नछोएको बताए ।

प्रवासी नेपालीबारे पनि केही प्रसंग रहेको उल्लेख गर्दै उनले स्पटीकरण दिए, ‘यात्राको क्रममा सरसर्ती रुपमा जुन–जुन कुरा देखेँ, त्यही कुरा उतार्ने प्रयास गरेको हुँ ।‘ उनले आफ्नो पुस्तक एउटा फुक्काफाल फिरन्तेको विशुद्ध यात्रा–अनुभूति रहेको छनक दिए । वैदेशिक रोजगारीको विषयमा भने गहन रुपमा नबुझी लेख्दा त्रुटि होला कि भन्ने डरले पनि आफू सजग बनेको उनको भनाइ थियो ।

‘घुम्ने सौख भएको एउटा मान्छेले देखेका/भोगेका कुरालाई सरसर्ती चित्रण गरेको रुपमा मेरो किताबलाई हेरियोस्,’लामिछानेले भने, ‘यद्यपि विश्वका विभिन्न कुनाको सन्दर्भ,मान्छेको सहृदयी भावना र चालचलनबाट पाठकले धेरै कुरा पाउन सक्छन् ।‘

एनआरएन अभियान, व्यावसायिक काम र अक्सर छुट्टी मनाउने सिलसिलामा विभिन्न देश पुग्दाको प्रसंगलाई किताबी रुपमा प्रस्तुत गरेको उनले बताए ।

सामान्यतया कार्यक्रमको सुरुवातमा पुस्तक लोकार्पण गर्ने परिपाटी रहे पनि ‘सरसर्ती संसार‘ पाठकमाझ ल्याउन फरक शैली अपनाइयो । कार्यक्रमको बिसाउनीमा लेखक लामिछानेले आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई आफ्नो पुस्तक उपहार दिएसँगै गौतमले पुस्तक सार्वजनिक गरिदिए ।पुस्तक नेपालयले प्रकाशन गरेको हो । मूल्य तीन सय ४५ रुपैयाँ राखिएको छ ।