पोखरा–काठमाडौं रुटमा शौचालय र स्लिपर सिटको सुविधायुक्त रात्री बस संचालन


राजाराम पौडेल,पोखरा – काठमाडौं पोखरा रुटमा अत्याधुनिक सुविधायुक्त बस सञ्चालन गरेको पोखरा जगदम्भा ट्राभल्सले रात्री बसमा पनि अर्को सुविधायुक्त बस थप गरेको छ । पृथ्बी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालन हुने बस नेपालकै पहिलो शौचालय र स्लिपर सिट सहितको रात्री बस भएको संचालनको दावी गरेको छ ।
आगामी मंसिर २७ गतेदेखि नियमित सञ्चालन हुने बसको सेवासुविधा वारे मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । सञ्चालक केशब अधिकारीका अनुसार नयाँ बसमा अत्याधुनिक सुविधासम्पन्न ३० वटा स्लीपर सिट , सुत्नका लागि बल्याङ्केटको ब्यवस्था एबं सुविधायुक्त मेकानिकल ट्वाईलेट, मिनिवारको सुविधा छ । पोखरा र काठमाडौंबाट राती १० बजे छुट्ने बसको भाडादर ११ सय रुपैयाँ कायम गरिएको छ ।

११ सयमा यात्रुले चिया, कफीको साथै बेलुका हाईटी र विहान ब्रेकफाष्ट, मिठाई, पत्रपत्रिका, फेस टावेल लगायतका सुविधा पनि प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रुटमा रात्रीकालिन समयका लागि अत्याधुनिक सुविधायुक्त बस पहिलोपटक सञ्चालन गर्न लागिएको हो । यसअघि पृथ्बी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत रातीको समयमा डिलक्स बस सञ्चालन गरिदै आएको थियो । यसअघि सञ्चालित बस पुरानै समय तालिका अनुसार चल्ने र नयाँ बसबाट थप सेवा प्रदान गर्न लागिएको समितिका अध्यक्ष ऐन कुमार साईले जानकारी दिए ।