रोनाल्डोमाथि कर छलीको आरोप


स्पेनिस कर कर्मचारीहरुको युनियन गेस्थाले स्पेनको आन्तरिक राजश्व विभागसँग क्रिष्टियानो रोनाल्डोको कर छलीबारे कुनै फाइल भए अभियोजनकर्ताहरुलाई दिन आहृवान गरेको छ ।

रोनाल्डोमाथि लागेको कर छलीको आरोपबारे निर्णय गर्ने अधिकार सरकारी वकिलहरुलाई दिनुपर्छ भन्ने माग उनीहरुको छ गत सप्ताहन्तमा मात्रै युरोपेली मिडियाहरु सण्डे टाइम्स र स्पेनिस दैनिक पत्रिका मुण्डोले रोनाल्डोले कर छली गरेको समाचार प्रमुखताका साथ प्रकाशन गरेका थिए ।

साथै इंग्लिस क्लव आर्सनलका स्टानर मेसुट ओजिल र म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होलाई पनि कर छलीको अभियोग लगाएका छन् ।

उनीहरुले बेलायती र स्पेनिस कर अधिकारीहरुलाई छलेर क्यारेवियनको ट्याक्स हेेभेनमा १ करोड पाउण्ड लुकाएको दाबी पत्रिकाको छ ।

माउरिन्होले आफूले केहि गलत काम नगरेको र रोनाल्डोका पोर्चुगिज एजेन्ट कम्पनी गेस्तिफुतेले माउरिन्हो र रोनाल्डोले आफ्नो कर दायित्व पूरा गरेको दाबी गरेको छ ।

तर गेस्था, जसले स्पेनको कर प्रशासनका कर्मचारीहरुको प्रतिनिधित्व गर्छ, उसले सोमबार भनेको छ कि सरकारी वकिलहरुले मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय गर्नुपर्छ किनकि यो फौजदारी मुद्दा हो ।

उनीहरुले कडा शब्दमा एक प्रेस बिज्ञप्ति जारी गर्दै यदि दोषी ठहरिएमा रोनाल्डोले लामो समय जेलमा बिताउनुपर्ने बताएका छन् । स्पेनको प्रतिष्ठित पत्रिका एल मुण्डोले आफ्नो रिपोर्टमा रोनाल्डोले १५ करोड युरोसम्म आफ्नो तस्वीर प्रयोग गरेबापत पाउने रकम क्यारेवियनमा लगेर लुकाएको हुनसक्ने उल्लेख गरेको छ ।

युरोपेली मिडियाहरुमा आएको रिपोर्टपछि स्पेनका अर्थमन्त्रीले आइतबार भनेका थिए कि हामीले यो विषयमा अनुसन्धान गर्नेछौं ।रोनाल्डोले २०११ र २०१३ को बीचमा कति कर बुझाए भन्ने बिषयमा छानविन भइरहेको छ । तर, एल मुण्डोका अनुसार उनको २००९ देखिकै कर रेकर्ड ठीक छैन । रोनाल्डोले २००९ मा रियल मडि्रडसँग अनुबन्ध गरेका थिए ।