कलाकार पनि अखण्ड ५ नम्बर प्रदेशको पक्षमा (छापाबाट)


प्रदेश नम्बर ५ टुक्र्याउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध बुटवलमा जारी आन्दोलनलाई साथ दिन सोमबार कलाकारहरू सडकमा उत्रिएका छन् । बुटवलको मिलनचोकमा आयोजित विरोध प्रदर्शनमा कलाकारले अखण्ड ५ नम्बर प्रदेशको पक्षमा भाषण मात्रै गरेनन् गीतसमेत गाएर आन्दोलनकारीलाई नचाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
आन्दोलनलाई साथ दिन कलाकार बद्री पंगेनी सडकमा उत्रिएपछि चिसो मौसममा पनि माहोल निकै तातेको थियो । उनले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघात भन्दै कलाकारले त्यसविरुद्ध निरन्तर साथ दिने बताए । उनले ५ नम्बर प्रदेशका बासिन्दा मिलेर बसेको अवस्थामा विभाजन गर्न खाजिएको आरोप लगाउँदै संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन् ।
बुटवलको मिलन चोकमा सोमबार संशोधन प्रस्तावको विरोधमा महिलाको नेतृत्वमा छुट्टै प्रर्दशन र विरोध सभा भएको छ । विरोध सभामा कलाकारले आन्दोलनलाई समर्थन गर्दै गीत गाएका थिए । कार्यक्रममा गायक पंगेनीलाई स्थानीय कलाकारले साथ दिएका थिए,  ।