राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले योजनाअनुसार काम गर्न सकेन (छापाबाट)


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले मङ्सिर १५ गतेभित्र नै काठमाडौँ उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितसँग अनुदान सम्झौता गरिसक्ने लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरे पनि उक्त योजनाअनुसार काम हुन सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहनुभएको निर्देशक समितिको बैठकले मङ्सिर १५ गतेभित्रै उपत्यकाका भूकम्पपीडितसँग सम्झौता सक्ने निर्णय गरे पनि हालसम्म ६२ प्रतिशत लाभग्राहीसँग मात्र सम्झौता हुन सकेको छ ।
काठमाडौँँ जिल्लामा रहेका साढे ४२ हजार लाभाग्राहीमध्ये ३१ हजार नौ सयसँग मात्र सम्झौता भएको छ भने १० हजार ८३२ जनाको गुनासो दर्ता भएको छ ।  काठमाडौँका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारी भने लक्ष्यअनुसार कार्य भएको दाबी गर्नुहुन्छ ।  उहाँ विभिन्न कारणले छुटेका परिवार मात्र बाँकी रहेको बताउनुहुन्छ ।  सोमबारदेखि नै पीडितको खातामा रकम जम्मा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत रकम निकासा भइसकेको पनि उहाँले बताउनुभयो । आजकाे गोरखापत्र दैनिकमा खबर छ ।
त्यस्तै ललितपुरमा २५ हजार ५०६ मध्ये ११ हजारसँग सम्झौता भएको छ भने पाँच हजार गुनासो दर्ता भएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।  ललितपुरका कतिपय स्थानमा पीडितको नाम छुट भएको र त्यसको समाधान नभई सम्झौताको कार्य अगाडि बढाउन अवरोध गरेको पनि उहाँले बताउनुभयो ।
जिल्लामा सुकुम्बासीको समस्या, नापी नभएका जग्गाको समस्यालगायत दर्जनौँ समस्या रहेकाले पनिसम्झौतामा लक्ष्यअनुसार प्रगति हुन नसकेको उहाँको भनाइ छ ।  आइतबार जिल्ला समन्वय समितिको बैठक सोमबार बसेकाले धेरै समस्या समाधान हुने विश्वास उहाँको छ ।  आगामी एक सातामा कार्य प्रगति निकै अगाडि बढ्ने उहाँको दाबी छ ।   भक्तपुरमा २६ हजार ६६ भूकम्पपीडितमध्ये १६ हजार ६३२ मात्र हालसम्म सम्झौता गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना इकाईले जनाएको छ ।
प्रचण्ड नेतृत्वको सरकारले पीडितलाई आवास निर्माण गर्न तीन लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरे पनि सोही अनुरूपको परिमार्जित कार्यविधि मन्त्रिपरिषद्बाट पारित हुन ढिलाइ भएपछि दोस्रो किस्ताको निकासी गर्न ढिलाइ भएको छ ।  परिमार्जित कार्यविधिको मस्यौदालाई छिटै मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।