संविधान संशोधनबारे नमुना जनमतसंग्रहः विपक्षमा ९५ प्रतिशत मत


राजाराम पौडेल,पोखरा- सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विधेयक विरुद्ध आन्दोलनमा उत्रेको अनेरास्ववियूले पोखरामा संविधान संशोधनको विषयमा जनमत संग्रह गरेको छ । यसको विपक्षमा ९५ प्रतिशतले मत प्रकट गरेका छन् ।

अनेरास्ववियू, पृथ्वीनारायण क्याम्पस एकाईले क्याम्पस गेटमा सोमबार आयोजना गरेको जनमत संग्रहमा तीन हजार आठ सय ९५ जनाले आफ्नो मत जाहेर गरे । विपक्षमा तीन हजार सात सय १८ जनाले मत दिए । पक्षमा भने एक सय ७२ मत मात्रै खसेको एकाई संयोजक राजन शर्मा पराजुलीले जानकारी दिए । पाँच म बदर भएको थियो ।

अनेरास्वियु केन्द्रिय सचिवालय सदस्य एवं गण्डकी अञ्चल ईञ्चार्ज सरिता पुरीले संविधान संशोधनको सवालमा पनि मुलुकको मत यस्तै रहेको प्रतिक्रिया दिईन् । उनले तराई टुक्राउने गरी, हिन्दी भाषा घुसाउने र अंगीकृतका सवालमा गरिएको संशोधन कदम राष्ट्रघाती र विखण्डनकारी भएको भन्दै अराजकता निम्त्याउने खेलमा सरकार लागेको आरोप लगाईन् ।

अनेरास्ववियूका केन्द्रिय सदस्य एवं कास्की ईञ्चार्ज भरतमान गुरुङले सरकारको कदमले राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रतामाथि धावा बोलेको भन्दै कुनै हालतमा पास हुन नदिने बताए । उनले मधेश आन्दोलनको नाममा हजारौं भारतीयले नागरिकता पाएको र विस्तारै संशोधनको नाममा खुकुलो पार्दै मधेश बुझाउने योजना भएको आरोप लगाए ।

अनेरास्ववियू, भूगोल जिल्ला कमिटि अध्यक्ष शेखर गौतमले कसैले दिवा सपना देख्दैमा प्रस्ताव पास नहुने बताउँदै स्थानीय जनताको अभिमत बुझेर तुरुन्त फिर्ता लिन आग्रह गरे । त्रिवि जिल्ला संयोजक विवेक देवकोटा, सहसंयोजक शंकर सैंजुले सरकारको कदम विरुद्ध सबै जाग्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका पृथ्वीनारायण एकाई संयोजक राजन शर्मा पराजुलीले अब निर्वाचित नयाँ संसदले मात्रै सीमा हेरफेर गर्ने सक्ने भएकोले काँग्रेस माओवादीको गठबन्धनले मुलुक सिध्याउने खेल खेलेको आरोप लगाए । कार्यक्रममा सन्तोष न्यौपानेले स्वागत तथा सचिब बिजय पौडेलले सञ्चालन गरेका थिए ।