दुई महारथी क्लब रियल,बार्साको भिडन्त “एल क्लासिको”


बसन्त रानाभाट

वसन्त रानाभाट /स्पेन

एल क्लासिको रुपमा परिचित रियल म्याड्रिड र बार्सिलोना बिच शनिबार हुने खेलका लागि करौडौ फुटबल प्रेमीहरु प्रतिक्षा गरिरहेका छन्। विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्तले संसारकै ध्यान फेरि स्पेन तिर नै तानेको छ। शनिबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउँमा, स्पेनको समय अनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुँदैछ।

लिगाको १३ खेल पछि रियल ३३ अङ्कका साथ शिर्ष स्थानमा छ। ६ अङ्कले पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोना अङ्क दुरी घटाउँने दाउमा देखिन्छ। यता लगातार ३२ खेलको अपराजित यात्रा जारी राखेको रियलले बार्सिलोनालाई पराजित गरेर उपाधिको प्रमुख दाबेदार बन्न चाहन्छ। गत बर्ष आफ्नै घरेलु मैदानमा ३९ खेल सम्मको अपराजित यात्रालाई रियलले तोडे पछि त्यसको बदलामा यसपटक बार्सिलोना पनि रियलको अपराजित यात्रालाई पूर्ण बिराम लगाउँने जोखाना हेरिरहेको छ।

एल क्लासिको र फरक राजनीतिक मत

रियल र बार्सिलोना बिच हुने जुनसुकै खेललाई पनि एल क्लासिको भनिन्छ। युइएफए यूरोपियन च्याम्पियनसीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेलको रुपमा पनि यसलाई चिनिन्छ।

यो प्रतियोगिता आफ्नै ईतिहासका कारणले पनि प्रख्यात र महत्वपूर्ण छ। बार्सिलोना र म्याड्रिड स्पेनका दुई ठूला शहरहरू हुन् जहाँ अझै पनि दुई फरक राजनीतिक मत पाइन्छ । सामान्यतया बार्सिलोना समर्थक कातालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन् । स्पेनबाट स्वतन्त्र भई आफ्नो छुट्टै कातलोनिया राज्य होस् भन्ने यहाँका कातालान नागरिकहरुले माग गर्दै आएका छन्।

यसैले बार्सिलोनाको घरेलु मैदानमा खेल हुँदा समर्थकहरु स्टेडियम भित्र कातालोनियाका झण्डाहरु फहराउँदै एक प्रकारको शक्ति प्रदर्शन गर्छन् जुन म्याड्रिडबासीले रुचाउँदैनन्। तसर्थ रियलको घरेलु मैदानमा खेल हुँदा म्याड्रिक समर्थकहरु स्पेनिस झण्डा फहराउँदै जबाफ फर्काएको संकेत गर्छन्।

मेस्सी र रोनाल्डोका कारणले पनि झनै चर्चा

स्पेन भित्र नै दुई फरक राजनीतिक मतका कारण दुई ठुला शहरका दर्शकहरु विभाजित भए पनि बिश्वभरका फुटबल प्रेमी दर्शकहरु भने रियल र बार्सा खेलको जादुमा डुबेका छन्। स्पेन भित्रको राजनीतिक मतलाई कुनै चासो नदिई दुई ठुला क्लबले देखाएको उत्कृष्ट प्रर्दशनबाट नै मोहित भएको पाईन्छ।

स्पेनमा मात्र हैन बिश्वभर रियल र बार्सिलोनाका आ-आफ्नै सर्मथक छन्,बिभिन्न काल खण्डका आफ्नो उच्च खेल प्रदर्शनका कारणले दुवै क्लबले करौडौ फ्यानहरु बनाउँन सक्षम देखिन्छन्। बिश्वका चर्चित फुटबल स्टारहरु पनि यिनै दुई क्लबबाट भिड्ने हुँदा एल क्लासिको खेल झनै रोचक बन्दै गएको छ।_92809123_clasपछिल्लो दशकमा त लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोका कारणले पनि एल क्लासिको झनै चर्चित छ। दुवैको व्यक्तिगत प्रतिस्पर्धालाई पनि एल क्लासिले जोडिदिएको छ। एल क्लासिको सुरु हुन भन्दा हप्तौ दिन अघि देखि नै मेस्सी र रोनाल्डोका फ्यानहरुले सामाजिक संजालमा टिकाटिप्पणी गर्न सुरु गर्छन्। बालोन डि’ओर र फिफा बेष्ट प्लेयर अवार्डका दाबेदार ठानिएका मेस्सी र रोनाल्डोले आँफूलाई प्रतियोगितामा अब्बल रुपमा प्रस्तुत गर्ने दाउमा देखिन्छन्। अहिलेसम्म क्लासिकोमा मेस्सिले सर्बाधिक २१ गोल गरेका छन्। यता रोनाल्डोले १६ गोल गर्न सफल भएका छन्।

कस्तो छ एल क्लासिको रेकर्ड ?

शनिबार हुने क्लासिको दुवै टोली बीचको २३२ औं भिडन्त हो । मैत्रीपूर्ण तथा अन्य खेल गरि २६४ पटक एक अर्का बीच भिडे पनि अफिसियल रुपमा भने २ सय ३२ पटक भिड्दै छन्। ला-लिगाको लागि भने दुवै टिम शनिबार १ सय ७३ औ पटक आमान्नेसामान्ने हुँदै छन्।

समग्रमा अफिसियल खेलमा म्याड्रिडले ९३ र बार्सिलोनाले ९० खेलमा जित हासिल गरेका छन् । ४८ खेल भने बराबरीमा नै सकिएको छ। तर मैत्रीपूर्ण खेललाई पनि गणना गर्दा २६४ खेलमा बार्सिलोनाले १०९ खेलमा र म्याड्रिडले ९७  खेलमा जित दर्ता गरेको छ। ५८ खेल बराबरीमा सकिएको छ।यस्तै लिगामा मात्र, १७२ खेलमा म्याड्रिड ७२ खेलमा बिजयी छ भने बार्सिलोनाले ६८ खेलमा जित दर्ता गराएको छ। ३२ खेल बराबरीमा सकिएको छ।

स्पेनको नेपाली समुदाय पनि विभाजित

बार्सिलोना र रियललाई समर्थन कै क्रममा स्पेनको नेपाली समुदाय पनि विभाजित छ। प्राय: बार्सिलोनामा बस्नेले बार्सिलोना फुटबल क्लबलाई र म्याड्रिडमा बस्ने नेपालीहरुले रियललाई समर्थन गरेको पाईन्छ।

तर बार्सिलोनामा बसेर रियललाई र राजधानि म्याड्रिडमा बसेर बार्सालाई समर्थन गर्नेको पनि खासै कमी भने देखिदैन। स्पेनमा बस्ने नेपालीहरु मध्ये संख्यात्मक रुपमा बढीले बार्सिलोना फुटबल क्लबलाई समर्थन गरेको भेटिन्छ।

आ-आफ्नै अनुमान

दुई दशक देखि स्पेनमा बस्दै आएका दावा ऋषी श्रेष्ठ यस पटकको क्लासिको बार्सिलोनाले जित्ने अनुमान लगाउँछन्। बार्सिलोनामा नै बस्दै आएका श्रेष्ठ  भन्छन् ,” पछिल्ला खेलहरु हेर्दा बार्सिलोना आफैमा धेरै सुधारिनु पर्छ,तर घरेलु मैदान हो जसरी पनि जित्छ भन्ने मलाई लाग्छ। अरु टिम भन्दा रियल बिरुद्द बार्सिलोना खरो उत्रन्छ,त्यसैले ३-१ ले बिजयी हुन्छ कि भन्ने मेरो अनुमान छ।”

राजधानी म्याड्रिडमा बिगत १ दशक देखि बस्दै आएका रियलका समर्थक रामकृष्ण पुडासैनी यसपटक निकै ढुक्क छन्। म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँग अटोग्राफ र तस्बिर समेत खिचाईसकेका पुडासैनीले भने,” बार्सिलोना पहिले जस्तो लयमा छैन, ६ अंकले अगाडि रहेको रियल झन् आत्मविश्वासका साथ खेल्नेछ। २-१ को गोल अन्तरले रियल बिजयी हुने अनुमान लगाएका पुडासैनीले लुका मोर्डिक,मार्सेलोसँग पनि तस्बिर खिचेका छन् भने बर्षेनी स्टेडियम पुगेर नै रियललाई समर्थन गर्ने गरेको पनि सुनाउँछन्।