के छ त संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा


काठमाण्डौ- मन्त्रिपरिषद् बैठकले मंगलबार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ। मंगलबार साँझ नै सो प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।मन्त्रिपरिषद्ले पारित गरेको संशोधन प्रस्तावमा प्रदेश नम्बर पाँचका पहाडी जिल्ला टुक्राउने र ती जिल्ला प्रदेश नम्बर चारमा मिसाउन प्रस्ताव गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका अनुसार संशोधन प्रस्तावमा राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट महिला दलित र अपाङ्ग एक जना र बाँकी जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी प्रस्ताव गरिएको छ। त्यस्तै नेपाली नागरिकसँग बिबाह गरेर आएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने प्रक्रिया सुरु भएपछि नेपाली नागरिकता दिने प्रावधान राख्न पनि प्रस्ताव गरिएको छ। त्यस्तै भाषा अायोगको सिफारिशका अाधारमा थप भाषालाई पनि राष्ट्रिय भाषाको मान्यता दिने कुरा पनि संशोधन प्रस्तावमा समावेश गरिएको छ।