कास्कीमा आयोजित ट्राफिक सप्ताह सम्पन्न


राजाराम पौडेल,पोखरा –  कास्कीमा आयोजित ट्राफिक सप्ताह सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला रेडक्रसको संयुक्त आयोजनामा भएको सप्ताहमा विभिन्न ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

समापनको अबसरमा सप्ताह सम्पन्न गर्न सहयोग गर्ने संघ संस्था एबं ब्यक्तिलाई सम्मान गर्नुको साथै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समेत गरिएको थियो ।

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताहको अबसरमा आयोजित सडक सुरक्षामा सडक प्रयोगकर्ताको भूमिका विषयक बक्तृत्वकला प्रतियोगितामा सैनिक आवासिय माविका सागर न्यौपाने प्रथम भएका छन् । त्यस्तै अमरसिंह नमुना माविकी प्रकृति रेग्मी द्धितिय, भाष्कर मेमोरियलकी सन्ध्या वास्तोला तृतिय र वाराही माविकी अञ्जु दाहालले सान्तोला स्थान प्रप्त गरिन् ।

यसैगरी ट्राफिक सप्ताहकै अबसरमा आयोजित चित्रकला प्रतियोगितामा सिर्जना उच्च माविकी कल्पना थापा पहिलो, कास्की मोर्डनाइजकी ईच्छा गुरुङ दोस्रो, वाराही माविका विशाल गुरुङ तेस्रो र सैनिक आवासिय माविका सुवास श्रेष्ठले सान्तोला स्थान प्राप्त गरे ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोना हुनेलाई क्रमश : तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता बिद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक घनश्याम अर्यालले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक अर्यालले पोखरामा सवारी संख्या बृद्धि हुदै गएपनि सडक ब्यवस्थापनको काम हुन नसकेकोमा चिन्ता ब्यक्त गरे । उनले ब्यवस्थित बसपार्क निर्माणमा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले ट्राफिक दुर्घटना न्यूनिकरण एबं सडक सुरक्षाको लागि प्रहरी सहित जिम्मेवार सबै निकायको साझा प्रयासको खाचो औल्याए । पोखराको सवारी ब्यवस्थापनका विषयमा समयमै नसोच्ने हो भने विकराल अबस्था आउने भएकाले सबै पक्ष गम्भिर हुन उनले आग्रह गरेका छन् ।

पोखरा उपमहानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले ट्राफिक प्रहरीसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रम स्थलमा उनले ट्राफिक प्रहरी सँग साझेदारीको कुरा गरेपनि सोहि स्थानमा रहेको ट्राफिक प्रहरीको प्रतिक्षालय नगरपालिकाले एक दिन अघि भत्काएको थियो । पोखरामा सवारी ब्यवस्थापनका लागि आकाशे पुल निर्माण्, सडक बत्ती, ट्राफिक लाईट लगायतमा नगरपालिकाले लगानी गर्ने तयारी गरिरहेको उनले सुनाए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक विश्वराज अधिकारीले ट्राफिक सप्ताहको अबधिमा चालक परामर्श, ट्राफिक सचेतना कक्षा सञ्चालन लगायतका जनचेतनामुलक कार्यक्रम गरिएको बताए । चालकका लागि सडकमै परामर्श दिने, बिद्यार्थीका लागि ट्राफिक सचेतना कक्षा लगायत सञ्चालन गरिएको उनले जानकारी दिए ।

यो अवधिमा मोटरसाईकल चलाउने ५५ जना युवा, ड्राईभिङ सेन्टरका ६२ जना प्रशिक्षक, ३० जना प्यारा पाईलट, ट्याक्सी चालक ७८ जना र ४५ जना आमा समुहका सदस्य गरी कुल २७० जनालाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको उनले बताए ।

यसैगरी विभिन्न बिद्यालयका २५० बिद्यार्थीलाई प्रशिक्षित गराएको र ६४५ जना चालकलाई सडकमै परामर्श दिइएको उनले जानकारी दिए । सप्ताह अबधिभर झण्डै ९ हजार पैदलयात्री र झण्डै ७५ सय चालकलाई जेब्राक्रसको बारेमा प्रशिक्षण दिइएको छ । यो अवधिमा ट्राफिक सचेतना सम्बन्धि झण्डै १५ हजार पम्प्लेट वितरण समेत गरिएको अधिकारीले बताए ।