आन्दोलन नियन्त्रणबाहिर गए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी (छापाबाट)


नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. गोविन्द केसीका सही माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । १३ दिनदेखि आमरण अनशनरत डा. केसीको ज्यान जोखिममा भएकाले उनका पक्षमा हुने चिकित्सकहरूको आन्दोलन नियन्त्रणबाहिर गए यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी पनि उनले दिए ।

चिकित्सक संघले डा. केसीको सत्याग्रहको निकासका लागि शनिबार आफ्ना पूर्वअध्यक्ष/महासचिव, पदाधिकारी, उपत्यकाका अस्पताल प्रमुख, चिकित्सकलगायतको बृहत् भेला डाकेको छ । ‘केसीका यसअघिका ९ अनशनमा चिकित्सक संघको प्रत्यक्ष समर्थन थियो,’ डा. श्रेष्ठले भने, ‘बृहत् भेलाले अबको आन्दोलन तय गर्छ ।’ चिकित्सक संघले बारम्बार आग्रह गरे पनि सरकारले अहिलेसम्म डा. केसीसँग वार्ता गर्न समितिसमेत बनाएको छैन । डा. श्रेष्ठले सरकारले तुरुन्त वार्ता समिति गठन गर्नुपर्ने बताए ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।

यसैबीच चिकित्सा शिक्षा र सेवासँग सम्बन्धित विभिन्न ८ संघसंस्थाले डा. केसीका माग पूरा गराउनका लागि आन्दोलनको नेतृत्व लिन चिकित्सक संघलाई लिखित आग्रह गरेका छन् । १३ दिनसम्म अनशन बस्दा पनि राज्यले संवेदनशीलता नदेखाएको भन्दै उनीहरूले परिस्थितिको गम्भीरता बुझी तुरुन्त कडा कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् ।

यसरी आग्रह गर्नेमा नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, नेसनल डाक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, सोलिडारिटी फर डा. केसी अलायन्स, डाक्टर्स सोसाइटी अफ नेपाल, रेजिडेन्टस एसोसिएसन अफ न्याम्स र सोलाडारिटी अफ मेडिकल फयाटर्निटी छन् । डा. केसीको आमरण अनशनको समर्थनमा बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थानबाट र्‍याली निस्केको थियो ।