एनआरएन अधिकारका लागि कानुन बनाउने काम चाँडै हुन्छ -परराष्ट्रमन्त्री डा. महत


परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गैरआवासीय नेपालीलाई पनि नागरिकता र अरु अधिकारका लागि कानुन बनाउने काम चाँडै हुने बताएका छन् । गैरआवासीय नागरिकको अधिकार संविधानमा राख्ने क्रममा आफूले विशेष भूमिका निर्वाह गरेको भन्दै मन्त्री महतले यससम्बन्धी कानुनको निर्माण अब चाँडै हुने जानकारी दिए ।

नेपाली महावाणिज्य दूतावास, न्यु साउथ वेल्स तथा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रवासी नेपालीहरुलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालको प्रगति र विकासको लागि योगदान गर्न अनुरोध गरे । सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउने उनले बताए ।

डा. महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसे आफ्नो मातृभूमिप्रतिको दायित्व नबिर्सिन आग्रह गरे ।

खाडीमा रहेका नेपालीलाई ध्यानमा राखेर सरकारले काम गरेको र त्यसको पहिलो निर्णय सानै भए पनि खाडीका केही देशमा पासपोर्ट निर्माणका लागि लाग्ने दस्तुर कम गरेको महतले जानकारी गराए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तसहित, सिड्नी, मेलबर्न, एडिलेड, बि्रसबेन लगायतका स्थानबाट आएका गैरआवासीय नेपाली नेताहरुको उपस्थित थियो ।