सरकारले मधेषीलाई देखाएर निर्वाचन नगराउने खेले खेल्यो : एमाले अध्यक्ष ओली


राजाराम पौडेल/पोखरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचन गर्न नचाहेका कारण मधेषी दललाई देखाउदै संविधान सम्सोधनको कुरा उठाएको बताएका छन् । ओलीले सरकारले उल्टो र चटके कुरा गरेर देशलाई अप्ठ्यारोमा पार्न खोजेको आरोप लगाए । शुक्रबार पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने ‘अहिले निर्वाचन गर्नुपर्ने बेलामा सरकार उल्टो र चटके कुरा गरेर देशलाई अप्ठयारोमा पार्न खोजिएको छ ।’ सरकारको काम संविधान कार्यान्वयनका लागि चुनाव गराउनेतिर भन्दा विवाद ल्याएर बल्झाउनेतर्फ उद्दत रहेको उनको आरोप लगाए ।

उनले संविधान संशोधन किन र केका लागि भन्दै संशोधन अहिले आवश्यक नभएको भनाइ दोहोर्‍याए । अमुख पात्रलाई खुसी पार्न संविधान संशोधन नहुने उनको तर्क छ ।

सरकारको काम अहिले संविधान संशोधन गर्ने होइन, निर्वाचन गराउने हो तर, अहिलेसम्म निर्वाचन सम्बन्धी कानून बनाउन समेत ध्यान नदिएको आरोप लगाए ।

एमाले देश, जनताको लागि सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै सरकारले उल्टो काम गरेको आरोप उनको छ । ‘२०७४ माघ ७ गतेभित्र चुनाव नभए देश गम्भिर संकटमा फस्छ,’ ओलीले भने, ‘समस्या समाधानतर्फ भन्दा अनावश्यक विवाद निकालेर देशलाई अप्ठयारोमा पार्न खोजिएको छ । यसविरुद्धमा एमाले लड्छ ।’

‘विहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा भयो,’ ओलीले भने, ‘न चर्काे आवाज, न कडा भाषा, राम्रै कुरा भो, आ–आफनै एजेण्डामा छलफल मात्रै भयो । संविधान संशोधनको विषयमा सरकारसँग कुनै ऐजेण्डा छैन ।’ संशोधन गरेर प्रदेश नम्बर ५ लाई विभाजन गर्ने काम न्यायसंगत नहुने ओलीको भनाइ छ । ‘कसैको स्वार्थको लागि प्रदेश नम्बर ५ र ४ को सीमा फेरबदल हुन सक्दैन’, उनले भने, ‘विवाद नभएको ठाउँमा अनावश्यक विवाद निकाल्ने काम ठीक होइन ।’ पहाड, तराई छुटाउने कुरामा ठुलै रहस्य भएको बताए । तर, के रहस्य हो भन्ने प्रश्नमा उनले बोल्न चाहेनन् । संविधान संशोधनको विधेयक दर्ता होला तर, पारित हुने कुरामा संभव नरहेको बताए ।

मधेस केन्द्रित दलहरुतर्फ इंगित गर्दै ओलीले मधेसीको माग न्यायसंगत नभएको बताए । ‘म पनि मधेसी नै हुँ, उनले भने, ‘पहाडबाट चुनाव उठेको छैन । मधेसबाटै जितेको छु ।’ कसैको स्वार्थको लागि जनताको भावनाविपरीत काम गर्न एमालेले नदिने उनले बताए । प्रेस चौतारी कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।