कांग्रेसले अझै टुंग्याउन सकेन राज्यमन्त्री (छापाबाट)


सरकार गठन भएको सय दिन पूरा भइसक्दा पनि सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले आफ्नो तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरूको नाम टुंगो लगाउन सकेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई राज्यमन्त्रीको नाम सिफारिस गर्ने बताए पनि पार्टीभित्रको आन्तरिक विवादले अझै नाम सिफारिस गर्न नसकेका हुन् ।

कांग्रेसबाट कुल मन्त्रालयको ५० प्रतिशत अर्थात् आठजना राज्यमन्त्री पाउने सहमति यसअघि नै भइसकेको छ । सहमतिअनुसारको नाम प्रधानमन्त्री पुष्पकमल दाहालले मागे पनि आकांक्षी निकै धेरै भएपछि सभापति देउवालाई व्यवस्थापन गर्न कठिनाइ परेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई कम्तीमा चारजना राज्यमन्त्री पर्नेगरी मिलाउन सभापति देउवालाई दबाब दिइरहेका छन् ।
यस्तै, अर्का नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले पनि आफ्नो पक्षका दुई÷दुई जना पाउनुपर्ने माग गर्दै आएका छन् । तर, देउवा भने पौडेल पक्षलाई तीन र सिटौला र खड्का पक्षलाई एकएक स्थान दिने र आफ्ना पक्षका चार राज्यमन्त्री पठाउने योजनामा रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए । आजको राजधानी दैनिकमा खबर  छ ।

परराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. प्रकाशशरण महतले राज्यमन्त्री पठाउने विषयमा पार्टीभित्र अहिलेसम्म छलफल नै नभएको बताए । ‘तरुण दलको महाधिवेशन पश्चात् सभापति राजधानीबाहिर हुनुहुन्छ, उहाँ आएपछि मात्रै यसबारे छलफल हुन्छ,’ महतले भने ।
पार्टीभित्र आन्तरिक विवाद कारण नभई सभापतिको व्यस्तताका कारण राज्यमन्त्रीबारे निर्णय हुन ढिलाइ भएको महतले बताए । मन्त्री छनोट गर्दा समावेशी र प्रादेशिक संरचनाअनुसार नाम व्यवस्थापन नगरेको भन्ने गुनासो खेपिरहेका सभापति देउवा राज्यमन्त्रीको विषयमा भने सन्तुलन मिलाउने पक्षमा छन् । यस कारण पनि देउवाले प्रधानमन्त्री दाहालसँग ९ मन्त्रालय दिन आग्रह गरिरहेका छन् । जसले देउवालाई पार्टीभित्रका आकांक्षीलाई व्यवस्थापन गर्नसमेत सहज हुने देखिन्छ ।