नेपाल तरुणदलको अध्यक्षमा जीतजंग बस्नेत चयन


राजाराम पौडेल,पोखरा – नेपाल तरुणदलको चौथो अधिबेशनले जीतजंग बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको पोखरामा पाँच दिन सम्म चलेको चौथो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्न नसकेपछि निर्देशन समितिले चयन गरेको कार्यसमिति सार्वजनिक गरिएको हो ।

महाधिवेशनबाट नेतृत्व चयनका विषयमा गुटगत विभाजनबाट विवाद भएपछि निर्देशन समितिले अध्यक्ष , उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको मात्र नाम सार्वजनिक गरेको छ ।

नेपाल तरुण दल निर्देशन समितिका संयोजक बालकृष्ण खाणले पार्टी नेतृत्व र प्रतिनिधिहरुको भावनालाई समेत मनन गरी केन्द्रीय निर्देशन समितिले नयाँ कार्यसमिति चयन गरेको बताए । कात्तिक २७ देखि सुरु भएको महाधिवेशन अन्तर्गत २९ गते निर्वाचन कार्यक्रम रहेपनि विवादका कारण निर्वाचन तालिका सार्वजनिक नगरी सहमतिको लागि भन्दै दुई दिन लम्ब्याइएको थियो । तर अन्तिममा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र वालकृष्ण खाणको विचमा भागबण्डा मिलाएर चार जनाको मात्रै नाम सार्वजनिक गरिएको छ ।

जस अनुसार तरुण दलको नयाँ अध्यक्षमा जीतजंग बस्नेतलाई चयन गरिएको छ । ललितपुरका उनी पार्टी सभापति देउवा निकटका हुन् । उपाध्यक्षमा कृष्ण प्रसाद सिटौला समुहका उत्तम चापागाई चयन भएका छन् । उनी भोजपुरका प्रतिनिधि हुन् । महासचिवमा बरिष्ठ नेता पौडेल निकट कालिकोटका भुपेन्द्र जंग शाही र कोषाध्यक्षमा वालकृष्ण खाड निकट पर्वतका बिद्धान गुरुङ चयन भएका छन् ।

तरुण दलको नयाँ कार्यसमिति कति सदस्यिय हुने भन्ने एकिन समेत भएको छैन र अन्य पदाधिकारी तथा सदस्यहरु समेत चयन हुन वाँकी छ । बाँकी पदाधिकारी र सदस्यहरुको चयन तरुण दल केन्द्रीय निर्देशन समितिको आगामी बैंठकबाट गरिने नेता खाँडले बताए ।

अध्यक्षमा चयन भएपछि बस्नेतले तरुणदलका नयाँ ढंगले अघि बढाउने दावि गरे । उनले वाँकी रहेका पदाधिकारी र सदस्यमा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । युवाहरुको भावना बुझ्न सक्ने, समाजमा देखिएका विकृति बिसंगति र भ्रष्टाचारलाई चिर्न सक्ने संगठन बनाउने उनको उद्घोष छ ।

नेताहरुविचमा भागबण्डा हुने स्थिति आएपछि महाधिवेशनमा सहभागी हुन पोखरा पुगेका प्रतिनिधि निरास हुदै घर फर्किएका थिए । लोकतान्त्रीक पार्टीभित्र महाधिवेशन अन्तर्गत सामान्य प्रक्रियामा समेत प्रवेश नगरी कार्यसमिति चयन गरिएको भन्दै प्रतिनिधिहरु रुष्ट बनेका छन् ।